नेपालगन्ज । अन्तर्राष्ट्रिय आमन्त्रण लुम्बिनी कप महिला फुटबल प्रतियोगिता अन्तर्गत शनिबार बाँकेको नेपालगंज रंगशालामा भएको दोस्रो खेलमा नेपाल पुलिस क्लब बिजयी भएको छ । भारतको सिलिगुरी एफसीलाई ४–० ले हराउदै नेपाल पुलिस क्लबले जित सुनिश्चित गरेको हो । पुलिसको जितमा निर्मला उपाध्यायले दुई तथा मिना देउवा र कप्तान निरु थापाले एक गोल गरेका हुन् ।
सुमन सुवेदीको कप्तानीमा रहेको पुलिसले पहिलो हाफमै चार गोल गर्न सफल भएको थियोे । मिनाले खेलको १३औं मिनेटमै पहिलो गोल गरिन् भने पाँच मिनेटपछि नै निर्मलाले पुलिसको लागि दोस्रो गोल गरेकी थिइन । खेलको १८ मिनेटमै दोस्रो गोल बेहोरेपछि भारतीय क्लब दबाबमा आएको थियो । भारतीय टोलीले २२औं मिनेटमा तेस्रो गोल बेहोरयो । रक्षकले बक्सभित्र हातले बल छोएपछि रेफ्री कृष्ण खत्रीले पुलिसलाई पेनाल्टी अवसर दिएका थिए ।
निर्मलाले ३०औं मिनेटमा व्यक्तिगत दोस्रो तथा टोलीको लागि चौथो गोल गरेकी हुन् । दोस्रो हाफमा भने भारतीय टिम सिलिगुरीले सुधारिएको खेल खेलेको थियो । यद्यपी भारतीय टोलीले गोल गर्न भने सकेनन् । नेपालगंज रंगशालामा पुलिसले राष्ट्रिय टिमबाट खेलिसकेका गोलकिपर उषा नाथ, समिक्षा घिमिरे, अमृता जैशी, सुस्मा तामाङ र निरुलाई मैदान उतारेको थियो ।
खेलको प्लेयर अफ द म्याच पुलिसकी स्ट्राइकर निर्मला घोषित भइन् । यो जित संगै आजको बिजेता विभागीय टोली नेपाल पुलिस क्लब प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । अब पुलिसले सेमीफाइनलमा वैशाख ९ गते अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ ।
आर्मीले उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेश फुटबल संघलाई ४–० ले हराउदै सेमी फाइनलको यात्रा तय गरेको हो । खेलको प्लेयर अफ द म्याच पुलिसकी स्ट्राइकर निर्मलालाई शिक्षासेवी तथा आयोजक संस्था अन्तरालका सल्लाहकार लोकेन्द्र बहादुर शाह र रमादेवी शाहले ५ हजार नगद हस्तान्तरण गरेका थिए । खेलसुरु हुनु अघि फिफा र भारतको एन्थम बनाईएको थियो । आजको प्रतियोगिता अखिल नेपाल फुटबल संघका पुर्व केन्द्रिय उपाध्यक्ष गोबर्धन सिङ सम्झानाले फुटबल हस्तान्तरण गरेपछि सुरु भएको हो ।
भोली आइतबार अपरान्ह ४ बजे हुने खेलमा बाँके फुटबल संघ र रौतहट जिल्ला फुटबल संघबीच प्रतिस्पर्धा हुनेछ । पहिलो पटक आयोजना भएको लुम्बिनी कपमा आठ टोली सहभागी छन् । घरेलु टिम बाँके–११, सशस्त्र प्रहरी बलको एपिएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश फुटबल संघ , सुदूरपश्चिम प्रदेश फुटबल संघ, रौतहट जिल्ला फुटबल संघ र भारतको सिलगुडी फुटबल क्लबले उपाधिका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।
बाँके जिल्ला फुटबल संघको सहकार्यमा भएकोे प्रतियोगिताको विजेताले ५ लाख ५ हजार ५५५ रुपैयाँ र उपविजेताले २ लाख ५० हजार रुपैयाँ, ट्रफी, मेडल प्राप्त गर्नेछन् । हरेक खेलका ‘प्लेयर अफ द म्याच र प्रतियोगितामा विधागततर्फ उत्कृष्ट हुनेलाई पनि पुरस्कृत गरिने आयोजक अन्तरालले जनाएको छ । यही बैशाख ५ गतेदेखि १२ गतेसम्म उक्त प्रतियोगिता सञ्चालन हुनेछ ।
