बढैयाताल । बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर ५ स्थित माछापालक कृषक र दाना उत्पादक भारतीय कम्पनीबीच अन्तरक्रिया गरिएको छ । बाँकेको कोहलपुर – ९ हवल्दारपुरमा रहेको अर्श सप्लायर्सको आयोजनामा आईबी ग्रुप अन्तगर्त फिश फिड एबिस एक्सपोटर्स ईन्डिया प्राईभेट लिमिटेड र बढैयातालका माछापालक कृषकहरुबीच अन्तरक्रिया गरिएको हो ।
माछापालनलाई कसरी राम्रो र उत्कृष्ट बनाउने भन्ने बिषयमा अन्तरक्रिया गरिएको वडा नम्बर ५ को कार्यालयले जनाएको छ । सो अन्तरक्रियामा भारतका वरिष्ठ मत्स्य विशेषज्ञ सन्जय कुमार श्रीवास्तवले माछाको सर्वोत्तम विकास र उच्चतम लाभका लागि उनीहरुलाई दिने भोजन नै अहम हुने जनाउँदै त्यसका लागि एबिस फिश फिड अत्यधिक लाभदायक रहेको बताउनुभयो ।
उहाँले उक्त फिश फिड लगाएत कम्पनीले भारतमा माछापालनका क्षेत्रमा गरिएका सफल र उत्कृष्ट प्रयासका वारेमा प्रस्तुतीकरण प्रस्तुत गर्नु भएको थियो । एबिस फिश फीड माछाको लागि बनाईएको एउटा सबैभन्दा राम्रो आहार भएको र यसले माछाको उचित बृद्धि विकासका लागि आवश्यक पर्ने उच्च पोषणको मांग पूरा गर्न मद्दत गर्ने कम्पनीका सहायक उपाध्यक्ष दितेश कुमार सिंहले जानकारी दिए ।
एबिस फ्लोटिङ्ग फिश फीड तथा एबिस एक्वास्टारबाट उच्च गुणस्तरीय माछा मासु प्राप्त गर्न विशेषज्ञद्वारा सबै प्रकारका माछामा सही पोषण संतुलन बनाई राख्नको लागि यो फिडमा अनुसन्धान र विकास गरिएको कम्पनीले जनाएको छ । अन्तरक्रियापछि आफ्नो प्रतिक्रिया दिंदै माछापालक किसानहरुले यो अन्तरक्रियाबाट माछा पालनलाई बृद्धि गर्ने र बढी भन्दा बढी आय आर्जन गर्न अपनाउनु पर्ने उपायहरुका बारेमा सिक्ने अवसर मिलेको बताए ।
अर्श सप्लायर्सका प्रमुख इलियास अहमद कुरेशीको सभापतीत्वमा र वडा नम्वर ५ का वडाअध्यक्ष तुलाराम थारुको प्रमुख अतिथिमा सम्पन्न कार्यक्रममा कल्पवृक्ष मत्स्य कृषक सहकारीका अध्यक्ष चन्द्रप्रकाश लम्साल, मत्स्यपालक कृषकहरु मिनराज पंगेनी, सिताराम थारु, एबिस फिड एक्सपोर्टर सिराज अहमद लगायत बढैयाताल क्षेत्रका ५० बढी कृषकको सहभागिता रहेको थियो ।

