काठमाण्डौ । राप्रपाका महामन्त्री एवं सांसद धवल सम्शेर राणा र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई थप १५ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ । चैत १५ गते तीनकुने घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सांसद समेत रहेका राणा र मिश्रलाई राज्यविरुद्धको अपराधमा अनुसन्धान गरिरहेको छ ।
काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक कुमार श्रेष्ठले राज्यविरुद्धको अपराधमा अनुसन्धान गर्न राणासहित २० जनालाई थप अनुसन्धान गर्न १५ दिनको म्याद थप भएको जानकारी दिएका छन् । तीनकुने घटनामै संलग्न रहेको आरोपमा अपराधिक उपद्रव र संगठित अपराधमा अनुसन्धान गर्न अरु ७८ जनालाई पनि समातिएको छ ।
उनीहरुलाई अनुसन्धानका लागि थप २० दिनको समय अदालतले दिएको छ । चैत १५ गते तीनकुनेमा राजसंस्था पुनःस्थापनका लागि भन्दै दुर्गा प्रसाईंको नेतृत्वमा भएको आन्दोलन भड्किदा दुई जनाको ज्यान जानुका साथै निजी घर, पार्टी कार्यालय, सवारी साधन, सपिङ कम्प्लेक्समा आगजनी तथा तोडफोड गरिएको छ ।

