नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिका वडा नम्बर ३ मा सञ्चालन भएको दुई दिने निःशुल्क स्वास्थ्य शिविर मार्फत २९६ जनाले स्वास्थ्य सेवाबाट लाभान्वित भएका छन ।
भिजन आँखा अस्पताल नेपालगञ्जको सहकार्यमा वडा कार्यालयले दुई दिने सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविर मार्फत ११० जना पुरुष र १८६ जना महिलाले निःशुल्क रुपमा आँखा परीक्षणबाट लाभान्वित भएका हुन ।
यहीँ पुष ४ गते इन्द्रपुर स्वास्थ्य चौकी र ६ गते श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, इन्द्रपुरमा सो शिविर सञ्चालन गरिएको वडा अध्यक्ष राजकुमार वर्माले जानकारी दिए ।
शिविर मार्फत गरिएको आँखा परीक्षणबाट ७० जनामा मोतिबिन्दुको समस्या रहेको देखिएको छ । शिविरमा परीक्षण गराएका बिरामीहरुलाई निःशुल्क आवश्यक औषधी समेत बितरण गरिएको छ ।
वडाअध्यक्ष वर्माका अनुसार मोतिबिन्दुको समस्या देखिएको र शल्यक्रिया गर्नुपर्ने देखिएका बिरामीलाई ५० प्रतिशतसम्म शल्यक्रिया तथा औषधीमा छुट पाउनका लागि सिफारिस गरिएको छ ।
