नेपालगञ्ज । बाँके स्थित खजुरा गाउँपालिका वडा नम्बर-६ सिमलघारीकी अढाई वर्षिया नाबालिकालाई चितुवाले खाएको १९ दिन पछि नियन्त्रणमा आएको छ । गतभाद्र ३० गते राती स्थानीय बिरेन्द्र पुनकी नाबालिका छोरी छोरी लक्ष्मी पुनलाई घरबाट लगेर खाने चितुवालाई १९ दिनपछि पासोमा परेको हो ।
बालिका मृत अवस्थामा भेटिए लगत्तै चितुवा नियन्त्रणका लागि बाँके र बर्दियाको बन तथा निकुञ्जका प्राबिधिकहरु, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयहरुको सहयोगमा चितुवाको खोजि कार्यमा निरन्तर जुटेका थिए ।
चितुवा नियन्त्रणका लागि आधुनिक खोर सामुदायिक जङ्गलमा राखिएकोमा १९ दिन पछि चितुवा खोरमा फँसेको थियो । नियन्त्रणमा आएको चितुवालाई हाल बन डिभिजन कार्यालय बाँकेमा लगिएको छ ।
सिमलघारीका बालिका खाएपछि बेपत्ता भएको चितुवा खजुरा-३ “बि” गाउँ र वडा नम्बर-३ को “सी” गाउँमा देखा परेपछि स्थानीयमा त्रास फैलिएको थियो । बाँके र बर्दियाको बीचमा पर्ने त्यो मानखोलाको जंगलमा यसअघि पनि पटक-पटक बाघ देखा पर्ने गरेको स्थानीयले बताए ।
मानखोला पारी बर्दियातर्फको जंगल पातलो भएपनि वारी बाँकेतर्फ ठूलो झाडी रहेको छ । त्यहाँ बच्चासहित बघिनी देखा पर्ने गरेको स्थानीय बताउँछन् । बाँके र बर्दियाका राष्ट्रिय निकुञ्जमा बाघको संख्या बढेसँगै राष्ट्रिय तथा सामुदायिक वनमा बाघ देखा पर्ने गरेका छन् । जानकारहरुका अनुसार, बाघको आफ्नो एरिया हुन्छ । त्यो एरियामा अर्को बाघ आयो र लडाई गरेर जित्यो भने हार्ने बाघले अर्को एरिया बनाउनतिर लाग्छ । शिकार गर्न नसक्ने बुढो र हार्दै गरेको बाघ बस्तीतर्फ सोझिने गर्दछ ।
बर्दियामा १ सय २५ र बाँकेमा २५ वटा बाघ छन् । निकुञ्जमा आहारा प्रजातीका जनावर प्रशस्त भएपनि पछिल्लो केही महिनायता बाँके र बर्दियाका सामुदायिक वन नजिकका गाउँमा देखिने गरेको छ ।

