नेपालगन्ज । समाचार संकलनको विषयलाई लिएर जि-नेपाल एच.डी टेलिभिजनका पत्रकार अभिषेक गुप्तामाथि दुव्र्यवहार गर्नेलाई कारबाही गर्न पत्रकार सम्बद्ध संस्थाले माग गरेको छ । असोज १७ गते घटस्थापनाको रिर्पोटिङ गरेर फर्किने क्रममा नेपाल पत्रकार महासंघ बाँकेका साधारण सदस्य तथा नेपाल प्रेस युनियन बाँँकेका कार्यसमिति सदस्य समेत रहेका गुप्तामाथि दुव्र्यवहार गर्नेलाई कारबाही गर्न माँग गरेको हो ।
बुधबार राती करिब ११ बजे नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २, त्रिबेणीमोड नजिकै घर अगाडि तीन जना युवाको समूहले भिडियो किन बनाएको भन्दै धमक्याएको र हातपातको समेत प्रयास गरेको घटनाप्रति पत्रकार महासंघ र प्रेस युनियन बाँकेको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
पत्रकार महासंघ बाँकेका सचिव कमल डाँगी र प्रेस युनियन बाँँकेका सचिव भिष्म लोधले शुक्रबार छुट्टाछुट्टै विज्ञप्ति प्रकाशित गरि समाचार संकलनको विषयलाई लिएर पत्रकार गुप्तामाथि दुर्व्यवहार भएको घटनाप्रति महासंघ र युनियन बाँके शाखा भत्सर्ना गर्दछ । साथै दुर्व्यवहारमा संलग्नहरुलाई कानूनी दायरामा ल्याई कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन । यस्ता घटना दोहोरिन नदिन र पत्रकारहरुलाई निर्वाध समाचार संकलनको वातावरण बनाउन प्रशासनको ध्यानाकर्षण समेत गराएको विज्ञप्तिमा उल्लेख छ ।

