Close sidebar

आज घटस्थापना, घर-घरमा जमरा राखेर मनाइँदै

२०८१ आश्विन १७ गते, बिहीबार ०८:०९

नेपालगन्ज । आज घटस्थापना अर्थात नेपालीहरुको महान पर्व बडा दशैंको पहिलो दिन घर-घरमा जमरा राखेर मनाइँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने बडा दशैं विधिपूर्वक घडा (कलश) स्थापना गरी त्यही कलशमाथि शक्तिस्वरुप दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भनिएको हो ।घटस्थापनाको दिन पूजाकोठा, दशैंघर अथवा कोतमा दियो कलश र गणेश थपी नवदुर्गाको स्थापना गर्ने चलन छ । कतैकतै भने ब्रह्माको पनि स्थापना गरिन्छ । घटस्थापनाका दिन पूजा कोठामा घैंटो अथवा घडामा जलभरि माथिपटि आँप, चाप, वरपिपलको पात राख्ने परम्परा छ । यो घडा वरिपरि गाईको गोबर टाँसेर त्यहाँ जौ उमार्ने चलन छ ।

कलशको स्थापना गरी नदी, खोला, बगर या आफूलाई पायक पर्ने ठाउँबाट ल्याइएको चोखो बालुवा या माटोमा जौ छरिन्छ । बिहानै उठेर नुहाई धुवाइ गरी चोखो भएर पूजा कोठामा बालुवा अथवा चोखो माटो राखी जौ र मकैको बीउ उमार्ने गरिन्छ । त्यही नजिकै थालीमाथि सुनको प्रतिमा राखी नवदुर्गा थाप्दै १० दिनसम्म पूजा गर्ने गरिन्छ । कहीँकहीँ मकै र गहुँको प्रयोग भए पनि अधिकांश स्थानमा जौ छर्ने प्रचलन रहेको छ ।

माता भगवतीलाई मनपर्ने वनस्पतिमा जमरा पनि एक भएकाले भगवतीलाई खुसी पार्नका लागि जमरा उमार्ने गरिएको शास्त्रमा उल्लेख छ । यसरी उमारिएको जमरा विजयादशमीका दिन देवीको प्रसादका रूपमा लगाउने गरिन्छ । विभिन्न नौ देवीको पूजा अर्चनापश्चात् दशमीका दिन त्यहाँबाट जमरा निकालिन्छ भने पूर्ण कलशको जलको अभिषेक पनि लिने चलन छ ।

यसैगरी, घटस्थापनादेखि नवरात्रभरि दुर्गा सप्तसधी र चण्डी पाठ गर्ने चलन छ । सप्तमी, अष्टमी र नवमीका दिन जमरा राखेको स्थानमा बली दिई, हात हतियार र निशानको पूजा गरिन्छ । मैसासुर, रक्तविज, चन्डमुन्डलगायतका असुरको बध गरेकी दुर्गे भवानीको पूजा विर्सजन पूर्णपात्रो र दक्षिणा संकल्प गरी समापन गर्ने चलन रही आएको छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया