नेपालगन्ज । सामाजिक सञ्जालमार्फत सर्वाेच्च अदालतका निवर्तमान न्यायाधीश कमलनारायण दासले मुस्लिम समुदाय माथि ठेस पुग्ने गरि लेखेको कुराले मुस्लिम आयोगको गम्भीर ध्यानाकर्षण भएको छ ।
हेर्नुस् आयोगको विज्ञप्ति ।
कमलनारायण दासको नामबाट सामाजिक सञ्जाल फेसबुकमा मुस्लिम समुदायको पवित्र रमजान महिनामा पर्ने रोजालाई इङ्गित गरी मुस्लिम समुदाय, इस्लाम धर्म र इस्लाम धर्मका प्रवर्तक समेतलाई अनादर र अपमानित गर्ने नियतले झुट्ठा, भ्रामक तथा कपोकल्पित कुराहरु पोष्ट गरी सामाजिक र धार्मिक सद्भाव खल्वल्याउने प्रयास भएको देखिएकाले उक्त कार्यप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ ।
बेलाबेला केही उश्रृङ्खल व्यक्तिहरुले नेपालीहरुबीच सदियौंदेखि चलिआएको धार्मिक सहिष्णुता एवं सामाजिक सद्भाव खल्बल्याई समाजमा अशान्ति फैलाउने उद्देश्यले मुस्लिम समुदायका धार्मिक धरोहरमाथि प्रहार गर्ने कार्यले आयोगलाई दुःखीत तुल्याएको छ ।
नेपाल एक बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक विशेषतायुक्त मुलुक हो । धर्ममा आस्था राख्ने प्रत्येक व्यक्तिलाई आफ्नो आस्था अनुसार धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्ने स्वतन्त्रता नेपालको संविधानले मौलिक हकको रुपमा प्रत्याभूत गरेको छ । तथापि केही व्यक्तिहरुले विचार र अभिव्यक्तिको स्वतन्त्रताको गलत वकालत गर्दै मुस्लिम सुदायको धार्मिक, सामाजिक र साँस्कृतिक पक्षहरुमा निरन्तर आक्रमण गरी जातीय वा साम्प्रदायिक विद्वेष फैलाउने वा विभिन्न जात, जाति, धर्म र सम्प्रदायवीचको सु-सम्बन्धमा खलल पर्ने कार्य गर्दै आएका छन् जुन नेपालको संविधानले प्रत्याभूत गरेको धार्मिक स्वतन्त्रता र धर्मनिरपेक्षताको वर्खिलाप हुन जान्छ ।
त्यसैले यस्ता गतिविधि निरुत्साहित गर्दै धार्मिक, सामाजिक सहिष्णुता र सद्भाव कायम गर्न नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराइन्छ । साथै मुस्लिम समुदायको धार्मिक आस्था माथि दुष्प्रचार गर्ने उक्त व्यक्ति उपर आवश्यक कानुनी कारबाहीको लागि सम्बन्धित निकायमा लेखि पठाइएको व्यहोरा अनुरोध गर्दै समाजमा शान्ति र अमनचयन कायम गरी सबै धर्म एवं समुदायहरुको धार्मिक स्थलहरुको संरक्षण गर्दै सबैको धार्मिक आस्थाप्रति सम्मान व्यक्त गर्न तथा सामाजिक साँस्कृतिक ऐक्यवद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्धन गर्न सबै समुदायहरुमा हार्दिक अपिल गरिन्छ ।



