
नेपालगन्ज । योग समिति नेपाल केन्द्रीय कार्यालय नेपालगन्जको तेस्रो साधारण सभा एवं अधिवेशनले सर्व सहमत नयाँ कार्य समिति चयन गरेको छ । नेपालगन्जमा शनिबार भएको अधिवेशनले योग गुरु गिरिराज भट्टराइलाई पुन: अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । उपाध्यक्षमा निर्मला शाह र लोकमाया सुवेदी (सुमित्रा )लाई चयन गरेको छ भने सचिवमा चिरञ्जीवी ज्ञवाली, सहसचिवमा टंक पौडेल रहनु भएको छ । 
यस्तै कोषाध्यक्षमा अम्बिका कोइराला र सह-कोषाध्यक्षमा मन्दरा शर्मालाई निर्वाचित गरेको छ । सदस्यहरुमा झबिलाल शर्मा, प्रेम केसी, सविता शर्मा, दिपक थापा, मेघराज बराल, प्रमोद अग्रवाल, सुनिता पन्थी र वसन्त गौतम रहनु भएको छ । यसअघि तेस्रो साधारण सभा एवं अधिवेशनको उदघाटन गर्दै लुिम्बनी प्रदेश शहरी विकास मन्त्री कृष्णा केसी नमुनाले योगा भ्यासले स्वस्थ र असल नागरिक बनाउन मद्दत पुर्याउनुका साथै सभ्य समाज निर्माणमा योगदान दिने विश्वास व्यक्त गर्नुभयो ।
योगालाई सरकारले व्यवस्थित गर्न नसकेको स्वीकार्दै उहाँले आगामी दिनमा कार्यक्रम र वजेट छुटयाउन पहल गर्ने आश्वान दिनुभयो । प्रदेश सभा सदस्य आदेश कुमार अग्रवाल, आयुवेर्द बिभाग टेकु काठमाडौका अनुगमन अनुसन्धान प्रमुख डा. प्रकाश ज्ञवाली, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २ का अध्यक्ष मनोज श्रेष्ठ, योग समितिका सल्लाहकार नन्दलाल वैश्य र अधिवक्ता विश्वजित तिवारी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा पत्रकारितामार्फत योगाको व्यापकता र स्वास्थ्य सचेतनामा योगदान पुर्याए बापत रेडियो बागेश्वरी तथा बागेश्वरी टिभीका स्टेशन म्यानेजर शुक्रऋषि चौलागाई, नेपाल टेलिभिजनका रिपोर्टर रुद्र सुवेदी र यूथ टुडेका सम्पादक महमूद आलम खानलाई कदर पत्रले सम्मान गरिएको थियो । अन्य क्षेत्रबाट सहयोग पुर्याउनेलाई पनि सम्मान प्रकट गरिएको थियो ।
सचिव निमला शाहबाट बार्षिक प्रतिवेदन र कोषाध्यक्ष अम्बिका कोईरालाबाट आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । योग समितिका प्रशिक्षक सालिक राम खनालद्वारा स्वागत मन्तब्य व्यक्त गरिएको कार्यक्रममा दुई सय ३६ जनालाई आजीवन सदस्यता तथा प्रमाण पत्र वितरण गरिएको थियो ।
