
नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ३ स्थित हलबलडोलीमा निर्माण हुन लागेको बरगद बाबा खलिल अहमद शाह मजारको शिलान्यास गरिएको छ । लुम्विनी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्री भण्डारीलाल यादवले बुधवार एक औपचारिक कार्यक्रमका बीच मजार शरीफको शिलान्यास गरिएको हो ।
बरगद बाबा मजार सौन्दर्यकरण तथा निर्माण उपभोक्ता समितिका अध्यक्ष जावेद अहमद शाहको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री यादवले यो मजारलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने बताए । डुडुवा गाउँपालिकाको कम्दीमा रहेको कम्मर शाह बाबा मेला धार्मिक तथा सांस्कृतिक पहिचानका रुपमा स्थापित भइसकेकाले बरगद बाबा खलिल अहमद शाहको मजारलाई पनि पर्यटकीय क्षेत्रसँग जोड्नु पर्ने कुरामा जोड दिए ।
यसको विकास र समृद्धिका लागि प्रदेश सरकारबाट हुन सक्ने सहयोगका लागि उनले प्रतिवद्धता समेत व्यक्त गरे । मन्त्री यादवले यसलाई व्यवस्थित बनाउन र संरक्षण गर्नका निम्ति स्थानीयबासीको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । उहाँले सबैको साथ र सहयोगबाट यो योजनालाई पूर्णता दिनुपर्ने बताए । मजारको पर्खाल निर्माणका लागि बजेटको ब्यवस्था समेत गर्ने प्रतिवद्धता गरे । मजार निर्माणका लागि अघिल्लो वर्ष आएको बजेट प्राविधिक कारणले फ्रिज भएको जानकारी दिए । 
निर्माण उपभोक्ता समितिका अध्यक्ष शाहले मजार निर्माणका लागि बजेट व्यवस्थापन गरेकोमा कृषि मन्त्री यादवलाई धन्यवाद दिएका थिए । ८२ वर्षीय स्थानीय अब्दुल अजिज खाँले लामो समयपछि मजार निर्माण हुन थालेकोमा हर्षित भएका छन । खाँले मजार निर्माणपछि पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने विश्वास लिएका छन । यो मजारमा स्थानीय लगायत छिमेकी देश भारतबाट समेत आउने गरेका छन् । मजारमा भाकल लिएका मागेको कुरा प्राप्त हुने विश्वास भएको खाँले बताए ।
प्रदेश सरकारको क्षेत्र विकास कोषको योजनामा करिब ३० लाखको लागतमा मजार निर्माण हुन लागेको हो । उपभोक्ता समितिले आगामी जेठ मसान्त सम्म मजार निर्माण सक्ने जनाएको छ । मजार शिलान्यास कार्यक्रममा डुडुवा गाउँपालिका वडा नं ३ का अध्यक्ष अमोद कुमार तिवारी, शिक्षक मोहम्मद हुसेन खाँ, सर्वसाधारण लगायतको सहभागिता रहेको थियो ।
