नेपालगन्ज / बाँकेको जानकी गाउँपालिका वडा नम्बर ५, बेलहरीस्थित गुरुवागाउँमा कात्तिक शुक्ल पूर्णिमाको अवसरमा विशेष मेलामा भेडा जुधाउने ऐतिहासिक परम्परा छ । वर्षौंदेखि चलिआएको भेडा जुधाउने परम्परालाई अहिलेका पुस्ताले पनि हरेक वर्ष मेलामा भेडा जुधाउने ऐतिहासिक कार्यलाई निरन्तरता दिएका छन ।
मेलामा भेडा जुधाउन बाँकेका विभिन्न स्थानबाट मानिसहरू आउने गरेको स्थानीयहरु बताउँछन् । सो मेलामा हरेक वर्ष सयबढी भेडाहरू एकआपसमा जुधाउने गरिन्छ । मेलामा भेडा जुधाई बाहेक धार्मिक रामलिला नाटक मञ्चन, मनोरञ्जनात्मक कार्यक्रम नृत्य, भजन कृतन लगायतका कार्यक्रम हुने गरेको वडा नं. ५ का वडाध्यक्ष टिकानाथ यादवले जानकारी दिए ।
मेला लाग्ने स्थानमा नागाबाबा मन्दिर क्षेत्रमा ठुलो ताल छ । मेला हेर्न आउने दर्शनार्थीले मन्दिरको दर्शन गर्नुका साथै उक्त तालमा स्नान समेत गर्ने प्रचलन रहेको वडाअध्यक्ष यादवले बताए । मन्दिरमा आएर पूजाआजा गरी वर मागेमा मनले सोचेको कुरा पुरा हुने जनविश्वास रहिआएको उहाँको भनाइ छ ।