नेपालगञ्ज / बाँकेको चार स्थानमा आजदेखि कार्तिक शुक्ल पूर्णिमा अर्थात नहान मेला शुरु भएको छ । जानकी गाउँपालिकाको दुई स्थान जोगागाउँ र गुरुवागाँउ तथा डुडुवा गाउँपालिकाको राप्तीनदीस्थित सिधनयाघाट र राप्तीसोनारी गाउँपालिकाको टिकुलीपुर लगायत स्थानमा प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाको अवसरमा लाग्दै आएको मेला सोमबार देखि शुरू भएको हो ।
जानकी गाउँपालिका वडा नं. २ जोगागाउँस्थित जानकी मन्दिर सगराकुट्टी क्षेत्र र बेलहरीस्थित शिव मन्दिर तथा नागा बाबाकुट्टीमा बर्षौदेखि लाग्दै आएको परमपरागत ऐतिहासिक कार्तिक पूर्णिमा मेला अर्थात नहान मेलाको उद्धाटन लुम्बिनी प्रदेश सदस्य बादसाह कुर्मीको प्रमुख अतिथिमा र जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँको विशिष्ट अतिथिमा संयुक्त रूपमा रिबन काटेर मेलाको उद्घाटन गरेका हुन ।
जानकी गाउँपालिकाले मेला व्यवस्थापन एवं भण्डाराका लागि जोगागाउँ र गुरुवागाउँलाई डेढ- डेढ लाख रुपैया सहयोग स्वरुप दिएको गाउँपालिका अध्यक्ष खाँले बताउनुभयो । पुराना मेलाका रूपमा चिनिएका यी मेलामा बाँके, बर्दिया, दाङ, सुर्खेतका विभिन्न स्थानका साथै भारतको रुपईडिहा, नानपारा, श्रावस्ती, खिरी, लखिमपुर लगायतबाट मानिस आउने गर्छन । मेलामा राति सांस्कृतिक कार्यक्रम समेत हुने गर्दछ । ऐतिहासिक मेलाको संरक्षणका लागि आफूहरूले आवश्यक सहयोग गर्दै आएको वडा २ का वडाअध्यक्ष चन्द्रीका प्रसाद गुप्ताले जानकारी दिए ।
कार्यक्रममा नेकपा एमाले बाँके क्षेत्र नं. ३ का संयोजक भिम ओली, नेकपा एमाले लुम्बिनी प्रदेश सचिवालय सदस्य पदम धिताल, वडा नं. ३ का वडाअध्यक्ष राज कुमार वर्मा, सामाजिक विकास समितीका संयोजक राम अचल धोबी, विपद् तथा वातावरण व्यवस्थापन समितिका संयोजक राजेन्द्र सिंह, वडा नं. २ का सचिव कविता रेग्मी, श्री मावि. जोगागाउँ विव्यसका अध्यक्ष रज्जब अली हल्वाई, मेला मूल समितिका पदाधिकारीहरु, मेला मूल समितिका प्रेस सल्लाहकार सकील अहमद राई, नागरिक समाजका अगुवाहरु, सुरक्षा निकायका प्रमुखहरु, राजनीतिक दलका नेता तथा कार्यकर्ताको उपस्तिथि रहेको थियो ।
मेला मूल समिताका अध्यक्ष करन वर्माको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य वडा नं. २ का वडाअध्यक्ष चन्द्रीका प्रसाद गुप्ताले राखेका थिए । भने कार्यक्रम सन्चालन राजेन्द्र वर्माले गरेका थिए । यसैबीच कार्तिक शुक्ल पूर्णिमाका दिन राप्ती नदीमा स्नान गर्ने भक्तजनहरुको आज विहानैदेखि भिड लागेको छ । नदीमा स्नान गर्न बाँके लगायत विभिन्न स्थानबाट भक्तजनहरु आउने गर्दछन् ।