नेपालगन्ज / नेपालगन्जमा लगाइएको कर्फ्यु र निषेधाज्ञा आजबाट पूर्णरूपमा हटाइएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले आज एक सूचना जारी गरी नेपालगन्ज उपमहानगरपालिका क्षेत्र भित्र लगाइएको अनिश्चितकालीन कर्फ्यु र निषेधाज्ञा बिहान ४ बजेबाट पूर्णरूपमा हटाइएको हो ।
नेपालगन्ज उपमहानगरपालिका तथा समग्र जिल्लाको शान्ति सुरक्षाको अवस्था हाल सामान्य रहेकाले मंगलबार बिहान ४ बजेबाट पूर्णरूपमा कर्फ्यु र निषेधाज्ञा हटाइएको सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र बहादुर केसीले जानकारी दिए ।
सामाजिक सन्जालमा लेखिएको बिषयलाई लिएर उत्पन्न विवादका कारण असोज १६ गते दिउँसो १ बजेदेखि नेपालगन्ज उपमहानगरपालिका क्षेत्र भित्र चार किल्ला तोकि अनिश्चितकालीन कर्फ्यु लगाइएको थियोे । तर, जनजीवन सामान्य बन्दै गएपछि असोज १८ गतेदेखि कर्फ्यु र निषेधाज्ञाको समयअवधि भने दिन प्रतिदिन छोट्याउँदै दिउँसो कर्फ्यु हटाउने र निषेधाज्ञा जारी राख्ने र रातीमा कर्फ्यु कायमै राखिएको थियोे ।
नेपालगन्जमा उत्पन्न बिषय परिस्थितिमा समेत धैर्यताका साथ कर्फ्यु र निषेधाज्ञाको आदेश पालन गर्ने आम सर्वसाधारण जनता, समन्वय र सहयोग गर्ने धर्म गुरुहरु, राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज तथा शान्ति सुरक्षामा रातदिन खटिने सुरक्षाकर्मी लगायत सबैमा बाँके प्रशासनले हार्दिक अभार व्यक्त गरेको छ ।
साथै प्रशासनले कुनै पनि अमुक ब्यक्तिले गरेको क्रियाकलापलाई लिएर सम्पूर्ण समुदायलाई आक्षेप लगाउने , सर्वसाधारणलाई भडकाउने वा धार्मिक, सामाजिक सद्भावमा खलल पुर्याउने कुनै पनि काम नगर्न गराउन सबैमा अपील समेत गरेको बिज्ञप्तिमा उल्लेख छ ।
