
काठमाडौं / प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासले इजरायल माथि शनिबार गरेको आक्रमणमा परी १० जना नेपालीहरुको पनि मृत्यु भएको छ । गाजा क्षेत्रको फार्ममा काम गर्ने नेपालीहरुको मृत्यु भएको परराष्ट्र मन्त्रालय उच्च स्रोतले जनाएको हो ।
‘करिब १० जना नेपालीको हताहती भएको देखिएको छ । हामी यकिन संख्या र उनीहरु विस्तृत विवरण पुष्टि गरिरहेका छौं,’ परराष्ट्र उच्च स्रोतले भन्यो, ‘मृतकको शव संकलनको काम भइरहेको छ । शवहरु नेपाल ल्याउने विषयमा सोमबार बैठक बसेर निर्णय गर्छौं ।’
हमासले गरेको आक्रमणमा विशेष गरी सुदूरपश्चिम विश्वविद्यालयबाट प्रयोगात्मक अध्ययनका लागि गएका विद्यार्थीहरु परेका छन् । शनिबार हमासले अचानक इजरायली शहरहरु माथि जमिन र आकाशबाट आक्रमण गरेको थियो । आक्रमणमा केही नेपालीहरु घाइते भएका छन् । उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
आइतबारको संसद बैठकमा बोल्दै परराष्ट्र मन्त्री एनपी साउदले इजरायलमा केही नेपाली हताहत भएको बताएका थिए । मन्त्री साउदले संसदमा दिएको जानकारी अनुसार इजरायलमा अहिले चार हजार पाँच सय जना नेपालीहरू केयरगिभरको रुपमा रहेका छन् भने दुई सय ६५ जना विद्यार्थी अध्ययनरत छन् ।
हमासले शनिबार गरेको आक्रमणको जवाफमा इजरायलले पनि आक्रमण गरिरहेको छ । अहिले पनि लडाइँ जारी छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार दुबै पक्षका गरी ६ सय भन्दा बढी मानिसले लडाइँमा ज्यान गुमाएका छन् ।
