
नेपालगन्ज / बाँकेको जानकी गाउँपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिल बहादुर पौडेललाई दिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मुगुको सोरु गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत रहेका पौडेललाई जानकीको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको हो ।
बाँकेको खजुरा गाउँपालिका लगायत विभिन्न स्थानीय तह र गृह मन्त्रालयमा समेत काम गरेको अनुभव भएका पौडेलले जानकी गाउँकार्यपालिकाको कार्यालयमा आइतबार औपचारिक रुपमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्नु भएको छ । जिम्मेवारी सम्हाले पश्चात् उनले जनप्रतिनिधी, कर्मचारी र स्थानीयसँग हातेमालो गरेर काम गर्ने बताए ।
सो क्रममा गाउँपालिका अध्यक्ष छब्बन खाँ, निवर्तमान प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगी, गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर ५ का वडा अध्यक्ष टिकानाथ यादव, जिन्सी शाखाका राजु यादव लगायतको उपस्थिति थियो । यसअघि जानकीका प्रमुख प्रशासकीय अधिकृत रहेका डाँगीको अन्यत्र सरुवा भइसकेको छ ।
