
काठमाडौं / भद्र र सरल स्वभावका कारण नेपाली राजनीतिमा एउटा परिपक्क नेताको परिचय बनाएका पूर्वसभामुख एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङ अब हामीबीच रहेनन् । उनको हृदयाघातबाट निधन भएको छ । राति १ बजे हृदयाघात भएपछि उनलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको थियो । चिकित्सकहरूले उनको निधन भएको घोषणा गरेका थिए ।
नेम्वाङको पार्थिव शरीर त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा छ । केहीबेरमा त्यहाँबाट नेकपा (एमाले)को केन्द्रीय कार्यालय च्यासल लाने तयारी छ । उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज केन्द्रीय कार्यालयमा राखिने छ । विदेशमा रहेका उनका २ छोराहरु आएपछि मात्र उनको राजकिय सम्मानको साथ अन्त्येष्टि हुने छ । सरकारले उनको अन्त्येष्टिका दिन सार्वजनिक बिदा समेत दिने जनाएको छ ।
नेम्वाङ दुई वटै संविधानसभाका अध्यक्ष थिए । उनकै नेतृत्वमा ३ असोज २०७२ मा मुलुकले जनताका प्रतिनिधिबाट लेखिएको संविधान पाएको थियो । २०६३ मा तत्कालीन प्रतिनिधिसभा पुनःस्थापित भएपछि सभामुख बनेका नेम्वाङ त्यसपछि लगातार सभामुख भइरहे । उनी इलाम २ बाट चौथो पटक निर्वाचित भएका हुन । गत फागुनमा भएको राष्टपति निर्वाचनमा उनी एमालेका तर्फबाट उम्मेदवार बनेका थिए ।
