
नेपालगन्ज / मानवसेवा आश्रमले आफ्नो ११ औँ वार्षिकोत्सवका अवसरमा १३ औँ ज्ञान हस्तान्तरण कार्यक्रम (राष्ट्रका लागि युवा) आयोजना गर्ने भएको छ । यही भाद्र ५ देखि १३ गतेसम्म ९ दिने आवासीय ज्ञान हस्तान्तरण कार्यक्रम गर्न लागिएको आश्रमले जानकारी दिएको छ । यसपटक उक्त कार्यक्रम मानवसेवा आश्रमको शाखा कार्यालय रुपन्देही बुटवलमा हुनेछ ।
युवाहरुमा सकारात्मक सोच, सिर्जनशिलता, रचनात्मकता, मानवीयता र सामाजिक भावनासहितको असल, आत्मसंयमित, विवेकशिल र आत्मनिर्भर बनाउने उद्देश्यले ज्ञान हस्तान्तरण कार्यक्रम (राष्ट्रका लागि युवा) को आयोजना गर्न लागिएको हो । आफुलाई दृढ, आत्मविश्वासी, करुणावान, क्षमतावान बनाउन चाहने हर कोही कार्यक्रममा सहभागी हुन पाउनेछन् ।
कार्यक्रममा भर्खरै कक्षा १२, स्नातक वा स्नातकोतर परीक्षा दिइ बसेकाहरुलाई प्रथामिकता दिइने छ । यसपटकको कार्यक्रममा १०१ जना सहभागी गराउने लक्ष्य राखिएको छ । यस कार्यक्रममा फारम भरेकाहरुको हकमा अन्य कार्यक्रमहरुमा पनि अवसर प्रदान गरिनेछ । कार्यक्रमका लागि रू १५०५ फारम शुल्क लाग्नेछ भने फारम मानवसेवा आश्रमको सातै प्रदेशमा रहेका शाखा कार्यालयहरू, मानवसेवा आश्रमको आधिकारिक वेबसाईट र फेसबुक पेजबाट पनि प्राप्त गर्न सकिनेछ ।
बाँके र बर्दियाका ईच्छुक सहभागीहरुले कार्यक्रमको फारम नेपालगन्ज उपमहानगरपालिका आदर्शनगर सुर्खेतरोडमा रहेको मानवसेवा आश्रामबाट पनि प्राप्त गर्न सकिने छ । कार्यक्रमका सहभागिहरुका लागि खान, बस्नको प्रबन्ध आश्रमले नै गर्नेछ । योग, ध्यान, प्रणायम, क्षमता विकास, व्यत्तित्व विकास, नेतृत्व विकास, बोल्नेकला, तनाव व्यवस्थापन, मातृत्व र राष्ट्र प्रेम, जीवन जिउने कला जस्ता जीवन उपयोगी विषयहरुमा प्रशिक्षण हुने यस ९ दिवसिय ज्ञान हस्तान्तरण कार्यक्रम युवाहरुको जीवन रुपान्तरणका लागि कोसेढुङ्गा सावित हुनेछ ।
देश विदेशमा ख्यातिप्राप्त प्रशिक्षकहरुबाट प्रशिक्षण गराईने यस जीवन उपयोगी कार्यक्रममा कर्मद्वारा समाजमा सकारात्मक परिवर्तन ल्याउन सफल व्यक्तिहरुबाट प्रशिक्षण गराईनेछ । थप जानकारी मानवसेवा आश्रमको शाखा कार्यालयको तल दिएका फोन वा ईमेलमार्फत लिन सक्नुहुनेछ । फोन नं. ९८५५०७६०११, ९८५५०७६००३, ९८५५०७६००१, ९८५५०७६०१० ईमेल: humanitynepal2022@gmail.com
