
बाँके / कोहलपुर नगरपालिकाको १३ औं नगरसभामा पालिकाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट आज प्रस्तुत गरेको छ । नगर प्रमुख पूर्ण प्रसाद आचार्यले नीति तथा कार्यक्रम र नगर उपप्रमुख संगीता सुवेदीले बजेट प्रस्तुत गरेकी हुन् । शुक्रबार नगरसभामा पालिका उपप्रमुख सुवेदीले आगामी आर्थिक वर्ष ०८०/०८१ का लागि १ अरब ७ करोड ७४ लाख रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन । नगरसभाकाे पहिलाेे दिन नगर प्रमुख आचार्यले सार्वजनिक गरेकाे आर्थिक वर्ष ०८०/०८१ को नीति तथा कार्यक्रममा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिएको छ । तहगत नमूना विद्यालय विकास गरी सामुदायिक विद्यालयका टिनका छाना क्रमशः विस्थापित गर्ने, यसै आर्थिक वर्षदेखि स्रोतको मुल्यांकन गरी स्रोतसाधनको समूचित प्रयोगबाट टिनका छाना विस्थापन र जिप्सन जडान कार्य थालनी गरिने भएको छ ।
यस्तै नगरभित्र सन्चालित एक सामुदायिक विद्यालयलाई आवासीय विद्यालयको रुपमा विकास गर्ने लक्ष्य पनि नीति तथा कार्यक्रमले अघि सारेको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि भौतिक पूर्वाधारको विकास, शिक्षकहरुलाई प्रविधिमैत्री सीप विकास, शिक्षण कला, क्षमता विकास र असल अभ्यास शिक्षण सिकाइ आदान प्रदान, ‘विद्यार्थीसँग अग्रज’ कार्यक्रम सन्चालन गरिने भएको छ । शिक्षक पेशामा क्षमता अभिवृद्धि गर्न र पेशाप्रति सकारात्मक बनाउन ‘म जिम्मेवार शिक्षक’ अभियान सन्चालन गर्ने नीति अघि सारिएको छ ।
नीति तथा कार्यक्रममा सामुदायिक विद्यालयमा प्राविधिक शिक्षालाई प्रोत्साहन र पढ्दै कमाउँदै कार्यक्रम सन्चालनका लागि सम्भावित विद्यालय छनौट गरी जीवनोपयोगी सीप एवं शिक्षामा जोड दिने, शैक्षिक तालिम केन्द्र एवं अनुसन्धानमुलक केन्द्र स्थापना गरी शिक्षकहरुको क्षमता अभिवृद्धि गर्न खोजमुलक अनुसन्धान कार्य अगाडि बढाइने भएको छ । कोहलपुर नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी गराउने भएको छ । मानव स्वास्थ्यलाई मध्यनजर गर्दै सरुवा रोग नियन्त्रण, बंशाणुगत रोगको निदान र दीर्घरोगीलाई सहयोगी गर्ने नीति लिएको छ । सिकलसेल एनिमिया लगायतका रोगलाई नि:शुल्क र नियमित स्वास्थ्य परीक्षण गरी सेवा प्रदान गरिनुका साथै रोगीलाई पुनः स्थापना कार्यक्रम ल्याउने नीतिलाई अगाडि सारिएको छ ।
पूर्वाधार विकासलाई पनि नीति तथा कार्यक्रममा महत्वका साथ समेटिएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कोहलपुर नगरपालिकाका सबै वडाका मुख्य बस्तिहरु पक्की सडकले जोडिने र मुख्य राजमार्ग जोडिने मापदण्ड पुगेका सडकहरु प्रथमिकीकरण गरी स्तरोन्नती गरिने भएको छ । मुख्य शहरी क्षेत्रमा नागरिकको चाप र सुरक्षाको लागि आकाशे पुलहरु निर्माण गरिने नीति लिइएको छ । पटकपटक म्याद थप भएका र निर्माणमा ढिलाइ भएका ठूला एवं साना योजनाहरुलाई चालू आर्थिक वर्षभित्रै सम्पन्न हुन नसकेमा त्यस्ता योजनाहरुको म्याद थप नगरी निर्माण कार्यमा ढिलाइ गर्ने निर्माण व्यवसायीलाई दण्ड र पुरस्कार तथा कालो सूचिमा राख्ने नीति पालिकाले लिएको छ ।
त्यस्तै कोहलपुर नगरपालिकालाई हरित नगरका रुपमा विकास गर्ने नीति लिँदै फोहरमैला व्यवस्थापन गर्न अनिवार्य रुपमा सदस्यता लिनुपर्ने र सदस्यता नलिए सेवा सुविधाबाट बञ्चित गर्ने नीतिलाई क्रमशः कार्यान्व्यन गरिने उल्लेख छ । साथै ‘मेरो फोहर मेरो जिम्मेवारी’ अभियानलाई अगाडि बढाइने भएको छ । त्यसैगरी कोहलपुर डिजिटाइजेसन कार्यक्रम अन्तर्गत कागज रहित प्रशासन, सूचना प्रविधिमा आधारित सेवा प्रवाह एवम् सफ्टवेयर प्रणालीको प्रयोगलाई कार्यान्वयनमा लैजाने नीति नगरपालिकाले लिएको छ । नगरपालिकाभित्र रहेका वातावरणीय दृष्टिकोणले मापदण्ड विपरीत रहेका तथा प्रदूषण बढी गर्ने उद्योग व्यवसायलाई निरुत्साहित गर्दै प्रदूषण न्यूनीकरण गर्ने प्रविधि अवलम्वन गर्ने उद्योगी व्यवसायीलाई प्रोत्साहन गर्ने नीति पनि नगरपालिकाले लिएको छ ।
यसैगरी नगर क्षेत्र भित्र संचालित ठूला उद्योग व्यवसायहरुमा कम्तिमा ५० प्रतिशत स्थानीय श्रमशक्तिलाई रोजगारीमा आवद्धता गर्ने, र नगर भित्र भएका सन्चारकर्मीहरुका लागि एडभान्स तालिम , लेखनवृतिको लागि फेलोसिप प्रदान गर्ने, कृषि पकट क्षेत्र छुट्याई कृषकको आर्थिक स्तरोन्नतिको लागि प्रोत्साहन गर्ने नीति तथा कार्यक्रममा समेटिएको छ । नीति तथा कार्यक्रम र बजेटमाथी छलफल गर्न आगामी २६ गते दिनको १ बजे नगरसभा बस्ने गरि शुक्रबारको नगरसभा सकिएको छ ।
