
काठमाडौं / एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र हङकङले विजयी सुरुआत गरेका छन । नेपालले मलेसियालाई ६ विकेटले र हङकङले सिंगापुरलाई ८ विकेटले हराएर विजयी सुरूवात गरेका हुन । २३६ रनको लक्ष्य पछ्याएको नेपालले भीम सार्कीको सर्वाधिक ७१ रन र कुशल मल्लको बिस्फोटक ४० बलमा ५ चौका र ५ छक्काको मद्दतमा ७० रनको बदौलत नेपालले ३६.२ ओभरमै ४ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो ।
जवाफी ब्याटिङ गरेको नेपालले पहिलो ओभरमै ओपनर आशिफ शेखलाई १ रनमा गुमाएको थियो । त्यसपछि कुशल भुर्तेलले ब्याटिङलाई लयमा ल्याएका थिए । ३८ रन बनाएर भुर्तेल पेबेलियन फर्किएपछि नेपाललाई सुरुवाती दबाब भएको थियो । तर कप्तान रोहित कुमार पौडेल र भीम सार्कीले ब्याटिङलाई लयमा फर्काए । पौडेलले ४२ रनको योगदान गरे भने सार्कीले अर्धसतकीय पारी खेले । नटआउट अर्धसतकीय इनिङ खेलेका कुसल मल्ल म्यान अफ द म्याच घोषित भए ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा मंगलबार भएको खेलमा टस जितेर पहिलो ब्याटिङ रोजेको मलेसियाले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २३५ रनको योगफल तयार पारेको थियो । मलेसियाका लागि अहमद फैजले सर्वाधिक ७६ रनको योगदान गरे । ९५ बलमा ७६ रन बनाएका फैजले ८ चौका र १ छक्का प्रहार गरे । यस्तै विरन्दीप सिंहले ४६ रनको योगदान गरे । ९४ बलमा ४६ रन बनाएका उनले दुई चौका प्रहार गरे । खिजर हयातले २२ रन जोड्दा ओपनर अहमद अमिरले १७ रन जोडे ।
नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले सर्वाधिक समान तीन / तीन विकेट लिए । १० ओभर बलिङ गरेका सोमपालले ४० रन खर्चिए । यस्तै १० ओभर बलिङ गरेका लामिछानेले एक ओभर मेडेन राख्दै ४८ रन खर्चिए ।
बाबर हायातको शतकमा हङकङ विजयी
मुलपानी क्रिकेट मैदानमा मंगलबार भएको पहिलो अन्तर्राष्ट्रिय खेलमा बाबर हायातले उत्कृष्ट शतक बनाएपछि हङकङले सिंगापुरमाथि ८ विकेटको सहज जित निकालेको छ । यसअघि लोकल प्रतियोगिता भएपनि प्रिमियर कपकै लागि मुलपानी मैदान तयार गरिएको हो ।
टस जितेर पहिला ब्याटिङ गर्दै हङकङले दिएको १७५ रनको मध्यम लक्ष्य हङकङले ३३ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो । उसका लागि बाबर हयातले शतकीय योगदान दिए । तेस्रो नम्बरमा ब्याटिङका लागि आएका हयातले हरित्रा दत्तलाई लागतार ३ छक्का प्रहार गर्दै शतक बनाए । ९४ बलमा १० चौका र ६ छक्काको मद्दतमा नटआउट १०८ रन बनाएका हयात म्यान अफ द म्याच घोषित भए ।
यस्तै, ओपनर तथा कप्तान निजकान्त खानले ८९ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ५१ रन बनाए । सिंगापुरका रमेश कलिमुथु र अरित्रा दत्तले समान १ विकेट लिए । त्यसअघि पहिला ब्याटिङ गरेको सिंगापुर ४२.१ ओभरमा १७४ रनमै अलआउट भएको थियोे । उसका लागि कप्तान अरित्राले ५७ बलमा ९ चौका प्रहार गर्दै सर्वाधिक ४९ रन बनाउँदा आर्यन मोदीले २१ र कालिमुथुले १८ रन बनाए ।
सिंगापुरलाई सस्तैमा समेट्ने क्रममा हङकङका इशान खानले १० ओभरमा ३ मेडनसहित २४ रन खर्चेर ४ तथा यासिम मुर्ताजाले १० ओभरमा १ मेडनसहित २५ रन खर्चेर ३ विकेट लिए । प्रतियोगिता अन्तर्गत बुधबार टियू मैदानमा युएई र कुवेत तथा मुलपानीमा ओमान र कतार भिड्ने छन् ।
नेपाल अब दोस्रो खेल ओमानसँग वैशाख ८ मा कीर्तिपुरस्थित त्रिवि मैदानमा खेल्ने छ । नेपालको समूहमा ओमान, कतार, मलेसिया र साउदी अरेबिया छन् । समूह ‘बी’ मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । समूहका शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन् । सेमिफाइनल वैशाख १६ र फाइनल वैशाख १८ गते हुनेछ । प्रतियोगिताको विजेता टिम आगामी सेप्टेम्बरमा हुने एसिया कपका लागि छनोट हुनेछ ।
