
नेपालगञ्ज / संवाद समूह बाँकेका सदस्यद्वय सांसद लक्ष्मी तिवारी र रत्न खत्रीलाई आज संवाद समूह बाँकेले स्वागत तथा सम्मान गरेको छ । खत्री बाँके क्षेत्र न ३ बाट प्रदेश सांसद र तिवारी बाँके क्षेत्र न २ बाट (समानुपातिक) संघीय सांसद निर्वाचित भएपछि पहिलो पटक समूहले सदस्यद्वयलाई आफनो कार्यालयमा शुक्रबार एक समारोहबीच गम्छा र अविरसहित सम्मान गरेको हो ।
संवाद समूह बाँके सदस्य कृष्णा केसी नमुना पनि बाँके क्षेत्र न १ बाट प्रदेश सांसदमा निर्वाचित हुनु भएको थियो । उहाँ हाल प्रदेश मन्त्री समेत रहनु भएको छ । कार्य व्यस्तताका कारण उहाँ भने उपस्थित हुन सक्नु भएन । सांसद खत्री र तिवारीलाई समूहका सहजकर्ता शुक्रऋषि चौलागाई, सदस्य एवं अधिवक्ता प्रहलाद बहादुर कार्की, सदस्य अस्मीता शाह लगायतले गम्छासहित स्वागत तथा सम्मान प्रकट गर्नु भएको थियो ।
जनसरोकारका गम्भिर र जटील सवालमा संवाद समूहले गरिरहेको संवाद सहजीकरणको प्रशंसा गर्दै सांसदले जनसरोकारका सवालमा आफुहरुले पनि सम्बन्धित ठाउँमा आवाज उठाउने र सम्बोधनको पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । जनसरोकार, विवाद र द्धन्द व्यवस्थापनमा क्रियाशिल समूहले आधा दर्जन सवालमा अहिले पनि संवाद सहजीकरण गरिरहेको छ ।
