Close sidebar

महेन्द्र पार्कमा कुकुरले मारे चार चित्तल, हेलचक्र्याई गर्ने कर्मचारी र ठेकेदारलाई कारवाहीको मांग

२०८३ बैशाख १७ गते, बिहीबार ००:३०

नेपालगन्ज । अव्यवस्थित महेन्द्र पार्क (चिडियाखाना)मा आज कुकुर पसेर चित्तलमाथी आक्रमण गरेको छ । नेपालगन्ज वडा नम्बर-८ स्थित चिडियाखानामा बाहिरबाट पसेका कुकुरले ४ वटा चित्तल मार्दासमेत नेपालगन्ज उपमहानगर मौन छ । पालिकाले घटना समेत लुकाउने प्रयास गरिएको स्थानीय बताउँछन् ।बाहिरबाट पार्कमा पसेका कुकुरले बुधवार विहान करिव ३ वजेको समयमा दुई पोथी, एक भाले र एक महिने चित्तललाई खोरमै पसेर मारेको पार्कका चौकिदार हरि घरुकले जानकारी दिए । उनले पूर्वतर्फको पर्खालबाट ६ वटा कुकुर एकैसाथ पार्कमा पसेर चित्तलको खोरमा आक्रमण गरेको घरुकले बताए ।

‘पर्खाल हाम फालेर पसेका कुकुरले पहिले पनि अष्ट्रिच चरालाई घाइते बनाएका थिए । पर्खालबाट कुकुर आउने गरेको जानकारी पहिले नै गराएको हुँ, “घरुकले” भने तर कुनै सुनुवाई भएन । चिडियाखाना मर्मतका लागि हरेक वर्ष बजेट बिनियोजन भएपनि सदुपयोग नभएको स्थानीय बताउँछन् ।

चिडियाखाना मर्मत तथा संरचना निर्माण गर्न गतआर्थिक वर्षमा १० लाख बिनियोजन भएतपनि अधुरो संरचना निर्माण भएको छ ।

‘आजभन्दा २० वर्षअघि पर्खाल र चित्तलको खोरमा लगाएको जाली खियाले खाएर जीर्ण अवस्थामा छ । मर्मतका लागि हरेक वर्ष वजेट आउँछ, तर काम भएका देखिदैन,’ एक स्थानीयले भने ।

कुकुरले चित्तल मारेको भनिए पनि पोष्टमार्टम नै नगरि गाडिएको छ । के कारणले मरेको हो भन्ने जान्न पोष्टमार्टम गर्नुपर्ने हुन्छ । तर उपमहानगरले सामान्य मुचुल्का बनाएर मरेका चित्तललाई खाल्डोमा गाडेको छ । ‘कुकुरले मारेको भनाईको आधारमा सामान्य मुचुल्का उठाएर पार्क भित्रै गाडिएको छ,’ एक कर्मचारीले भने ।

पार्कमा रहेका जंगली जनावरको राम्रो हेरचाह गर्न नसकेको भन्दै सर्वत्र आलोचना भएको छ । संरक्षण गर्न नसक्ने हो भने जंगलमा छाड्नु पर्ने सर्वसाधारणले माग समेत गरेका छन् । ‘अनाहकमा चार वटा चित्तलले ज्यान गुमाए । कि राम्रोसँग संरक्षण गर्नु पर्यो, होइन भने जंगलमा लगेर छोड्नु पर्यो,’ नेपालगन्ज उपमहानगरपालिका-९ का स्थानीय वासिन्दाले भने । हेरचाहमा हेरचक्र्याई गर्ने ठेकेदार र कर्मचारीलाई कारबाही गर्नुपर्ने माग समेत उठेको छ ।राष्ट्रिय निकुञ्ज क्षेत्रमा कुनै जंगली जनावर सवारी साधनमा आफै आएर ठोक्किएर मरे चालकलाई कारवाही भए जस्तै चिडियाखानामा रहेका जंगली जनावरको हेरचाह गर्न नसक्ने ठेकेदार र कर्मचारीलाई कानुन बमोजिम कारवाही हुनु पर्छ,’ एक स्थानीयले भने ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया