नेपालगन्ज । नेपाल प्रहरीका काबिल प्रहरी एसपी अङ्गुर जिसीले नेतृत्व गरेको जिल्ला प्रहरी कार्यालय बाँके कार्यसम्पादन मूल्यांकनका आधारमा देशभरिमै ‘सर्वोत्कृष्ट कार्यसम्पादन’ तर्फ प्रथम भएको छ ।
काठमाडौँ र ललितपुर जस्ता जिल्लालाई पछि पार्दै बाँके जिल्ला चैत्र महिनामा उत्कृष्टता हासिल गर्न सफल भएको हो ।
प्रहरी संगठनको विभागीय नीति तथा निर्देशनलाई आत्मसात गर्दै अनुशासित, लगनशील, इमानदार, व्यवसायिक र कर्तव्यनिष्ठ रूपमा जिम्मेवारी निर्वाह गरी उत्कृष्ट कार्यसम्पादन गरेको मूल्यांकनका आधारमा एसपी जिसीलाई पुरस्कृत गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेको नेतृत्व सम्हालेपछि जिल्लामा शान्ति-सुरक्षाको अवस्था सुदृढ बनाउनुका साथै अपराध अनुसन्धानमा समेत उल्लेखनीय उपलब्धि हासिल गरेको भन्दै उनी पुरस्कृत हुने प्रहरी अधिकृतको सूचीमा पर्न सफल भएका हुन् ।
नागरिकमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै काम गर्दै आएका एसपी जिसीले आफू पुरस्कृत हुनु थप जिम्मेवारीको अनुभूति भएको प्रतिक्रिया दिए ।
उनले आगामी दिनमा पनि आमनागरिकलाई सुरक्षित वातावरणको अनुभूति गराउने, प्रहरी सेवामा नागरिकमैत्री व्यवहारलाई अझ सुदृढ बनाउने तथा पीडितलाई न्याय र पीडकलाई सजाय सुनिश्चित गर्न निरन्तर प्रतिबद्ध रहने बताएका छन् ।

