नेपालगन्ज : इस्लाम धर्मावलम्बीहरुको महान पर्व ईद–उल–फित्र (ईद) अविरल वर्षाले प्रभावित भएको छ । आज विहानैदेखि भइरहेको अविरल वर्षाका कारण ईद–उल–फित्र (ईद)को पढ्ने विशेष नमाज प्रभावित भएको हो ।
इस्लाम धर्मावलम्बीहरुले हरेक वर्ष ईदको दिन नेपालगन्जको स्थानीय विपी चोकस्थित ईदगाहमा विहानै पुगेर ईदको सामुहिक रुपमा नवाज पढ्ने गर्छन् । तर यसपटकको ईदमा भने शनिबार बिहानैदेखी भएको अविरल वर्षाले मुस्लिम समुदायको न्युन उपस्थितिमा ईदको सामुहिक रुपमा नमाज पढिएको हो ।
अविरल वर्षाका कारण यसपटकको ईद–उल–फित्र (ईद)को विशेष नमाज प्रायः धेरै जसो स्थानीय मस्जिदहरुमा पनि पढिएको छ । ईद–उल–फित्र (ईद)को विशेष नमाजपछि इस्लाम धर्मावलम्बीहरुले साथीभाइ लगायत एकाअर्कालाई अंकमाल गरि ईदको शुभकामना साटासाट गर्छन् ।
इस्लाम धर्मावलम्बीहरुले ईदको दिन साथीभाइ, आफन्त लगायतलाई सेवइ, जर्दा, दहीबडा, छोला लगायत मीठा खानेकुरा खानदिने चलन रहेको छ । ईद पर्वको अवसरमा इस्लाम धर्मावलम्बीहरुले खुशीपूर्वक गरिबलाई दान, मिठा खानेकुरा लगायत दिने गरिन्छ ।
इस्लाम धर्मावलम्बीहरुले एक महिने व्रत बसी अरेबिक पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि ईद–उल–फित्र (ईद) पर्व मनाउने कार्यक्रम तय हुन्छ । आज शनिबार देशभर इस्लाम धर्मावलम्बीहरुले ईदको विशेष नमाज पाठ गरी ईद–उल–फित्र (ईद) पर्व मनाईरहेछन् ।



