काठमाडौ । इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईको मृत्युको पुष्टि भएको छ । विगत ३७ वर्षदेखि इरानका सर्वोच्च नेता रहिआएका अयातोल्लाह अली खामेनेई अमेरिकी तथा इजरायली हमलामा परी शनिवार आफ्नो कार्यालयमै मारिएका इरानको सरकारी टेलिभिजनले पुष्टि गरेको हो ।
आँखाभरि आँसु देखिएका सरकारी टेलिभिजनका एक प्रस्तोताले मुलुकमा ४० दिनसम्म शोक मनाउने घोषणा गरिएको बताए । यसअघि इरानी सरकारी सञ्चारमाध्यमले हमलामा परी खामेनेईकी छोरी, ज्वाइँ तथा नातिनातिना र एकजना बुहारी मारिएका जनाएको थियो ।
खामेनेईको उत्तराधिकारी को हुने भन्नेबारे स्पष्ट भइसकेको छैन । हालका लागि सर्वोच्च नेताको अनुपस्थितिमा राष्ट्रपति, न्यायपालिका प्रमुख र शक्तिशाली गार्डिअन काउन्सिलले उनका जिम्मेवारीहरू सम्हाल्ने छन् ।



