Close sidebar

बाँके क्षेत्र नं. ३ मा एमालेको ‘फागुन २१ का लागि मेरो २१ दिन’ अभियान

२०८२ फाल्गुन १ गते, शुक्रबार २०:२८

नेपालगन्ज । फागुन १ — नेकपा एमाले बाँके निर्वाचन क्षेत्र नम्बर ३ ले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै “फागुन २१ का लागि मेरो २१ दिन ” अभियान सञ्चालन गरेको छ । निर्वाचनको मिति नजिकिँदै गर्दा पार्टी संगठनलाई परिचालन गर्दै जनसमर्थन विस्तार गर्ने उद्देश्यले यो अभियान सुरु गरिएको हो ।

अभियान अन्तर्गत क्षेत्रभित्र रहेका सम्पूर्ण पार्टी सदस्य, समर्थक तथा शुभेच्छुकलाई आ–आफ्नो टोलबस्ती र मतदाताको घरघरमा केन्द्रित भएर काम गर्ने जिम्मेवारी तोकिएको छ । टोलस्तरमा स–साना समूह बनाएर घरदैलो, मतदाता भेटघाट तथा टोलसभा कार्यक्रम सञ्चालन गरिनेछ ।

पहिलो चरणमा सञ्चालन गरिएका कार्यक्रमबाट प्राप्त सुझाव र अनुभवको आधारमा दोस्रो चरणको रूपमा यो अभियान अगाडि बढाइएको निर्वाचन परिचालन कमिटीका संयोजक रत्न खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार संगठनलाई अझ व्यवस्थित बनाउँदै अभियानलाई योजनाबद्ध ढंगले अघि बढाइनेछ ।

क्षेत्र नम्बर ३ को निर्वाचन परिचालन समिति बैठकले पार्टी कार्यकर्ता, समर्थक तथा शुभेच्छुकलाई आ–आफ्नो क्षेत्र र जिम्मेवारी तोक्दै परिचालन गर्ने निर्णय गरेको हो ।  बैठकमा केन्द्रीय सदस्य आरती पौडेल, लेखा आयोगका सदस्य बिजया धिताल तथा लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कँडेल लगायतले मन्तव्य राख्नुभएको थियो ।

वक्ताहरूले पार्टीका नीति, कार्यक्रम र उम्मेदवारका प्रतिबद्धताबारे जनतालाई बुझाउने कामलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए । उनीहरूले बाँके क्षेत्र नं. ३ मा एमाले उम्मेदवार सुमन मल्लको पक्षमा माहोल सकारात्मक बन्दै गएको र जनसमर्थन व्यापक देखिएको बताए ।

निर्वाचन परिचालन कमिटीले ‘मेरो २१ दिन’ अभियानलाई जनसम्पर्कमुखी, व्यवहारिक र प्रभावकारी बनाउँदै प्रत्येक कार्यकर्ता कम्तीमा २१ दिनसम्म निरन्तर सक्रिय हुने संकल्पसहित अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

कमिटीले उम्मेदवार सुमन मल्लको विजय सुनिश्चित गर्न सबै पार्टी पंक्ति एकजुट भएर लाग्न अपिल गरेको छ । साथै अभियानमार्फत जनताका समस्या, गुनासा र सुझाव संकलन गरी घोषणापत्र र भावी कार्यदिशामा समेट्ने तयारीसमेत गरिएको छ ।

निर्वाचन परिचालन समितिले बाँकी अवधिमा अभियानलाई थप व्यवस्थित बनाउँदै मतदातासँग प्रत्यक्ष संवादमार्फत विश्वास जित्ने रणनीति अवलम्बन गर्ने जनाएको छ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया