नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका अन्तर्गतका सामुदायिक, मदरसा तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरुको ४ दिने शैक्षिक अवलोकन भ्रमण शनिबार सफलतापुर्वक सम्पन्न भएको छ । शिक्षा, युवा तथा खेलकुद शाखा मानपुरको आयोजनामा सामुदायिक, मदरसा तथा संस्थागत विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीहरूको शैक्षिक अवलोकन भ्रमण सम्पन्न भएको हो ।
मंसिर १७ गते बिहिवार सुरु भएको भ्रमणको पहिलो गन्तव्य कास्की जिल्ला पोखराको बाटुलेचौरस्थित बिन्ध्यवासिनी माध्यमिक विद्यालयमा थियो । त्यहाँका असल अभ्यास, सिकाइ पद्धति तथा विद्यालय व्यवस्थापनका मोडलहरूबारे गहिरो अध्ययन गरिएको थियो । भ्रमण टोलीको नेतृत्व गरेकी शिक्षा शाखा प्रमुख कृष्णकुमारी भण्डारीले विद्यालयमा आयोजित अन्तरक्रियालाई अत्यन्त फलदायी रहेको बताउँदै भन्नुभयो,“हामीले देखेका उत्कृष्ट उदाहरणहरूलाई आफ्नै विद्यालयमा कसरी लागू गर्ने भन्नेबारे सहभागीहरूबीच व्यापक छलफल भयो । यसले शिक्षासुधारको यात्रामा महत्वपूर्ण ऊर्जा थपेको छ ।”
शिक्षा क्षेत्रमा विकसित हुँदै गएका सकारात्मक अभ्यासलाई थप मजबुत बनाउने उद्देश्यले आयोजना गरिएको यो भ्रमणले सहभागीलाई प्रेरणादायी अनुभव दिलाएको शिक्षा शाखा प्रमुख भण्डारीले बताइन । उहाँले मंसिर १९ गते शैक्षिक क्षेत्रसंगै महेन्द्र गुफा, गुप्तेस्वर, फेवाताल,पुम्दी कोत, साराङ कोत(सुर्यदय), डेबिस फाल(पातले छागा), अन्तर्राष्ट्रिय संग्रहालय, बिन्ध्यवासिनी मन्दिर र ताल बराही मन्दिर लगायत पर्यटकीय स्थलहरुको समेत अवलोकन गरेको जानकारी दिइन ।
मंसिर २० गते चार दिनको समृद्ध अनुभवसहित फर्किएको टोलीलाई बधाई दिँदै प्रमुख प्रशासकीय अधिकृत परसुराम उपाध्यायले यो भ्रमणले शिक्षामा सकारात्मक परिवर्तन ल्याउने नयाँ ढोका खोलिदिएको छ । अब सिकेको कुरा कक्षा-कोठासम्म पुर्याउने जिम्मा सबै शिक्षकहरूको हो ।”
अवलोकन भ्रमणमा योजना शाखा प्रमुख शोभा पौडेल, प्राविधिक सहायक झुमी कुमारी ओली, सामाजिक विकास समितिका संयोजक रामअचल धोबी, जिन्सी शाखाका सहायक कस्तर राजु यादव, सुचना तथा सञ्चार प्राविधि अधिकृत विकास जिसीलगायत शिक्षक, कर्मचारी, जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।


