नेपालगन्ज । नेपालसहित विश्वभर इस्लाम इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद ﷺ को १५०० औं जन्मोत्सव अर्थात् ‘मोहम्मद डे’ का अवसरमा नेपालगन्ज लगायत बाँकेमा धुमधामका साथ सम्पन्न भएको छ । ‘मोहम्मद डे’ का अवसरमा शुक्रबार बिहान ठुलो संख्यामा मुस्लिम धर्मावलम्बीको सहभागिता रहेको एक शुभजन्मोत्सव जुलुसले नगर परिक्रमा गरिएको छ । सो अवसरमा नगरका विभिन्न स्थानमा मिठाई, फलफूल, चिया, पानी लगायत अन्य खानेकुरा वितरण गरिएको हो ।
नेपालगन्ज लगायत बाँकेका वरिपरि क्षेत्रबाट विभिन्न नाराहरु लिखित प्लेकार्ड तथा ब्यानर लिएर आएका समुदायका सर्वसाधारणको ठुलो सङ्ख्यामा जुलुसमा सहभागिता थियो । जुलुसमा सयौं गाडी, अटो रिक्सा, ट्याक्टर र मोटरसाइकललाई पनि सहभागी गराइएको छ । शुभजन्मोत्सव जुलुशले नेपालगन्जका सबै मूख्य भागको परिक्रमा गरि करिब ६ घण्टाको हिँडाइपछि स्थानीय गौसिया मदरसामा पुगेर समापन गरेको छ ।
मुस्लिम समुदायले मोहम्मद डे मा सार्वजनिक बिदा माग गरेपनि नेपाल सरकारले समुदायलाई मात्रै विदा दिइएकोमा मुस्लिम अगुवाहरुले दुख व्यक्त गर्नुभएको छ । हजरत मोहम्मद मुस्तफा صلى الله وسلم को जन्मोत्सव अरेबिक पात्रो अनुसार हिजरी सम्वतको १२ रबिउल अव्वल साउदी अरबको मक्कामा भएको थियो ।
यसैगरि बाँकेको नेपालगन्ज उपमहानगर पालिका, जानकी गाउँपालिका, खजुरा गाउँपालिका र नरैनापुर गाउँपालिकाले पनि मोहम्मद डे को अवसरमा शुक्रबार सार्वजनिक बिदा दिएको छ । स्थानीय सरकारले विदा घोषणा गरेकोमा बाँकेका चारवटै पालिकाका मुस्लिमहरुले आभार व्यक्त गरेका छन् । नेपालको राष्ट्रिय जनगणना २०६८ अनुसार कूल जनसङ्ख्याको ४ दशमलव ४ प्रतिशत मुस्लिम रहेका छन् । नेपालमा बसोवासका आधारमा ७७ जिल्लामा नै मुस्लिम समुदाय रहेको बताइएको छ ।



