नेपालगन्ज । भारतीय नागरिकलाई नागरिकता दिलाउन नक्कली बुवा बन्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । सिरहाको नरहा गाउँपालिका वडा नम्बर ३ खोरियाका अमानत मियाँलाई प्रहरीले पक्राउ गरेको हो ।
मियाँलाई मंगलबार साँझ घरबाटै पक्राउ गरिएको सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) रमेश पण्डितले जानकारी दिए । ‘हामीकहाँ यो विषय आइसकेपछि सुक्ष्म तरिकाले यसको अनुसन्धान अघि बढाएका छौं,’ पण्डितले भने, ‘यसमा संलग्न सबैलाई अनुसन्धान र कारबाहीको दायरामा ल्याउँछौं ।’
नरहा गाउँपालिका वडा नम्बर ३ को वडा कार्यालयको सिफारिसमा जिल्ला प्रशासन कार्यालय, सिरहाले भारतीय नागरिक मुस्ताक मियाँलाई २६ असार २०८० मा नेपाली नागरिकता दिएको थियो । अमानत मियाँ र उनकी पत्नी रजिना खातुन नक्कली बुबाआमा बनेका थिए ।
वडा अध्यक्ष रुषतम अन्सारी र वडा सचिव रामदेव मण्डलले सिफारिस दिएका थिए । वडाअध्यक्ष, सचिव र जिल्ला प्रशासनका कर्मचारीले २ लाख भारु घुस लिएर नागरिकता दिलाएको भन्दै जिल्ला प्रशासनदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र गृह मन्त्रालयसम्म उजुरी परेको छ ।
यस प्रकरणमा भारतीयलाई मिलेमतोमा नागरिकता दिलाएको भन्दै दोषीमाथि कारबाही गर्नुको सट्टा संरक्षण गरिएको भन्दै सांसद राजकिशोर यादवले गत फागुन २७ गतेको संसद बैठकमा आपत्ति जनाउनुभएको थियो ।
भारत बिहार मधुबनी जिल्ला, जयनगर ग्राम पञ्चायतस्थित देउधाका मोस्ताक मियाँले नागरिकता प्राप्त गरेका थिए । उनले वडाबाट सिफारिस लिएर २०८० असारमा जिल्ला प्रशासन कार्यालय सिरहाबाट नागरिकता प्राप्त गरेका थिए ।



