नेपालगञ्ज । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) भोली बिहिवारबाट शुरु हुनेभएको छ । बाँकेका विभिन्न ८ वटा पालिकाका २८ सामुदायिक र ८ संस्थागत गरी ३६ परीक्षा केन्द्रबाट १० हजारभन्दा बढी परिक्षार्थीले एसइई दिन लागेको हो ।
सामुदायिक र संस्थागत विद्यालय बाहेक पनि ४३ जना परिक्षार्थीले एसइई दिन लागेका छन् । जिल्लामा रहेका दुई वटा बालसुधार गृहका ४३ जना बालबिज्याइँकर्ताले पनि यसवर्ष एसइई दिन लागेका हुन् ।
यसवर्ष सबैभन्दा बढी नेपालगञ्ज उपमहानगरपालिकामा ११, कोहलपुर नगरपालिकामा १०, राप्तीसोनारी गाउँपालिकामा ४, बैजनाथमा ४, खजुरामा ४ र नरैनापुर, डुडुवा र जानकी गाउँपालिकामा १/१ गरी ३६ परीक्षा केन्द्र तोकिएको शिक्षा विकास तथा समुन्वय इकाइ बाँकेका प्रमुख धनसुदन चौलागाईँले जानकारी दिए ।
उनका अनुसार नेपालगञ्जमा ७ सामुदायिक र ४ संस्थागत, कोहलपुरमा ६ सामुदायिक र ४ संस्थागत र अन्य सबै पालिकामा सामुदायिक विद्यालयमा परीक्षा केन्द्र तोकिएको बताए ।
जिल्लाका ३६ परीक्षा केन्द्रबाट दुई मदरसासहित १०४ सामुदायिक र १०२ संस्थागत गरी २०६ विद्यालयका पाँच हजार १७९ छात्रा र पाँच हजार २३७ छात्र गरी दश हजार ४१६ जना विद्यार्थीले एसइई दिने भएका हुन । बाँकेमा ३६ वटा तोकिएको परीक्षा केन्द्रबाट आठ हजार २४३ नियमित र दुई हजार १७३ ग्रेड वृद्धि गरी जम्मा दश हजार ४१६ जना विद्यार्थीले एसइई दिन लागेको इकाइ प्रमुख चौलागाईँले जानकारी दिए ।
चौलागाईंका अनुसार दश वटा सामुदायिक विद्यालयका ३१५ नियमित र ५९ ग्रेड वृद्धि गरी ३७४ जना प्राविधिकधारका विद्यार्थी पनि सहभागी हुने बताए । जसमध्ये सामुदायिकतर्फ १०४ विद्यालयका तीन हजार ८८६ छात्रा र तीन हजार ५२७ छात्र गरी सात हजार ४१३ विद्यार्थी र संस्थागत तर्फका १०२ विद्यालयका एक हजार २९३ छात्रा र एकहजार ७१० छात्रगरी तीन हजार तीन विद्यार्थी रहेका छन् ।
शिक्षा विकास तथा समन्वय एकाइ बाँकेका प्राविधिक सहायक मनिषा पौडेलका अनुसार कुल ३६ परीक्षा केन्द्रमध्ये राप्तीसोनारी गाउँपालिका विनौनास्थित भुवरभवानी मावि परीक्षा केन्द्रबाट सबैभन्दा धेरै ४०४ जना विद्यार्थी र नरैनापुर गाउँपालिका भोजपुरस्थित जयकिशन मावि परीक्षा केन्द्रबाट सबैभन्दा कम १८१ जना विद्यार्थीले यस वर्षको एसइई दिन लागेका छन् । पछिल्ला केही वर्षयता बाँकेमा हरेक वर्ष एसइई दिने विद्यार्थीको सङ्ख्यामा वृद्धि हुँदै गएको छ ।