नेपालगन्ज । बाँकेको नरैनापुर गाँउपालिकाको मियाँपुर्वामा रहेको मुस्लिमहरुको प्रसिद्ध धार्मिक स्थल आस्तान ए हजरत खलीफा नूर अहमद शाहको मजार शरीफमा उर्स (धार्मिक मेला) सोमबारदेखि भब्य रूपमा सुरु भएको छ । मुस्लिम धर्मगुरुको सम्झनामा विगत डेढ सय वर्षदेखि प्रत्येक वर्ष मजार विकास समितिले प्रसिद्ध बाबाकोे उर्स धुमधामको साथ मनाउँदै आएको छ ।
बाँकेको नेपालगन्जदेखि करीब ४७ किलोमिटर पुर्वमा अवस्थित नरैनापुर गाँउपालिका–२ स्थित आइस्तान ए हजरत खलीफा नूर अहमद शाहको मजार शरीफमा लागेको उर्से पाक औलया–ऐ केरामको पहिलो दिन सोमबार लुम्बिनी प्रदेश सभा सदस्य एवम् पुर्वमन्त्री कृष्णा केसी नमुनाले उद्घाटन गरिन् ।
१८ वर्षसम्म पहाडमा तपस्या गरेर बसेका तत्कालिन धर्मगुरु खलिफा नुर अहमद शाहको सम्झनामा सन् १८५७ देखि हरेक वर्ष बसन्त पञ्चमीपछि लाग्दै आएको उक्त मेलालाई महत्वपूर्ण धार्मिक तीर्थस्थलका रुपमा लिइन्छ । मेलामा बाँके, बर्दिया, सुर्खेत र भारतको उत्तर प्रदेशका श्रद्धालुहरू ठूलो संख्यामा आउने भएकोले यस क्षेत्रकै ठूलो धार्मिक गन्तव्यका रुपमा मेलालाई लिने गरिएको छ ।
धार्मिक स्थल आस्तान ए हजरत खलीफा नूर अहमद शाहको मजार शरीफमा भाकल गरेकाहरुले दैनिक रुपमा च्यादर चढाउने, फतिहा, नियाज तथा रातिको समयमा जलसा (धार्मिक प्रवचन) गर्ने छन् । यस्तै मेलामा विभिन्न सांस्कृतिक कार्यक्रमसंगै विशेष आकर्षणको रूपमा आलिया इण्डियन फलक नियाजी कौवाल रासीद नियाजी नैनीताल उत्तराखण्डको आयोजनामा कौवाली प्रतिष्प्रधा कार्यक्रम गर्ने तयारी रहेको छ ।
मेला उद्घाटन गर्दै प्रदेश सभा सदस्य केसीले सामाजिक सद्भाव, सँस्कार र सँस्कृतिलाई एकापसमा जोड्ने काम मेलाले गरेको बताइन् । यस्तै लुम्बिनी प्रदेश सभा सदस्य एवम् जनता समाजवादी पार्टी नेपालकी केन्द्रीय सदस्य अम्बिका काफ्लेले नरैनापुरको मेलाले विभिन्न समुदायलाई एकै ठाउँमा जमघट गराउने माध्यम बनाइदिएको बताइन् ।
यसैगरी नेपाली काँग्रेस बाँके क्षेत्र नम्बर १ का सभापति पोषणराज केसीले सामाजिक रितिरीवाज, सम्बन्ध स्थापना, अनुशासन, मेलमिलाप, आपसी सहयोग जस्ता सम्बन्ध मेलाले विस्तार गर्ने विश्वास ब्यक्त गरे । त्यस्तै जसपा नेपालका लुम्बिनी प्रदेश मुख्य सचिव राजन रानामगरले अन्य ठाउँको तुलनामा नरैनापुरको मेलाले ऐतिहासिक महत्व बोकेको बताए ।
नरैनापुर गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले सामाजिक र धार्मिक दृष्टीले गरिएका सबै पाप नाश भएर जाने धार्मिक विश्वासले गर्दा पनि यहाँको मेलामा टाढा–टाढाबाट श्रद्धालुहरु आउने गरेको जानकारी दिए । नरैनापुरमा रहेको धार्मिक स्थललाई पर्यटकीय गन्तव्य रुपमा विकास गर्न आफू लागी परेको बताउँदै शाहले प्रदेश र संघीय सरकारले सहयोग गर्न जरुरी रहेकोमा जोड दिए ।

