मो. अरशद शेष राई✍️
नेपालगन्ज । दुई दिनअघि बाँकेमा दुई समूहबीच भएको झडपका क्रममा गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ । बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ८, चौफेरीस्थित पुष्पनगर टोलमा गत माघ २५ गते राति ९:२० बजे दुई समूहबीच भएको झडपका क्रममा १८ वर्षीय दिनेश रोकायको आइतबार उपचारका क्रममा भारतको लखनउमा मृत्यु भएको प्रहरीले जनाएको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बैजनाथ गाउँपालिका वडा नम्बर ८, बिच लाईन बस्ने सुवास बुढाको विवाह समारोहमा दुलही भित्र्याउने क्रममा रमाइलो चलिरहेको अवस्थामा मदिरा पिएका युवाहरुबीच झडप भएको थियो । दुलही भित्राएपछि नाचगान चलिरहेको समयमा एक्कासि दुलाहाका भिनाजु नाता पर्ने रामबहादुर रानाको समूह र छिमेकी युवक दिनेश रोकायाको समूहबीच विवाद बढ्दै जाँदा दुई पक्षीय कुटपिटका क्रममा रानाको खुकुरी प्रहारबाट दिनेश गम्भीर घाइते भएका थिए ।
दिउँसोदेखि नै मदिरा खाइरहेका दुई समूहबीच विवाद भएपछि त्यहाँ भाग दौड मच्चिएको थियो । झडपका क्रममा धारिलो हतियार प्रहारबाट गम्भीर घाइते दिनेशलाई कोहलपुरस्थित मेडिकल कलेजमा प्राथमिक उपचारपछि भारतको लखनउ लगिएको थियोे । जहाँ उनको सामरा अस्पतालमा उपचारको क्रममा आइतबार विहान ३ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता (डिएसपी) आयुश प्रसाद जोशीले जानकारी दिए । घाइते अन्य ५ जनाको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको उहाँले बताउनुभयो ।
हत्या वारदातमा संलग्न ६ जना पक्राउ :
घटनापछि स्थानीयबासीले दोषीलाई कडा कारबाहीको माग गर्दै प्रशासनलाई छिटो अनुसन्धान गरी पीडित परिवारलाई न्याय दिलाउन आग्रह गरेपछि हत्या वारदातमा संलग्न दुलाहा भिनाजु नाता पर्ने रामबहादुर रानासहित ६ जनालाई प्रहरीले पक्राउ गरी गरेको छ ।
पक्राउ पर्नेहरुमा बैजनाथ गाउँपालिका वडा नम्बर २ बस्ने ३० वर्षीया मनिषा राना, वडा नम्बर २ बस्ने ३४ वर्षीय राम बहादुर राना, वडा नम्बर ६ बस्ने १८ वर्षीय भिजन नेपाली, वडा नम्बर ८ बस्ने १८ वर्षीय सुजन बुढा, जाजरकोट शिवालय गाउँपालिका वडा नम्बर ७ घर भई पाहुना आएका २९ वर्षीय हिम बहादुर बुढा र दाङ बबई गाउँपालिका वडा नम्बर ६ घर भई पाहुना आएकी २७ वर्षीया अमृता डाँगी रहेका छन ।
डिएसपी जोशीका अनुसार पक्राउ गरिएका उनीहरुलाई बाँके जिल्ला अदालतबाट कर्तब्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान एवं कारवाही प्रक्रिया अघि बढाएको छ ।

