नेपालगन्ज । आज माघे सङ्क्रान्ति पर्व देशभर विविध कार्यक्रम गरि मनाइँदैछ । प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिनदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जानेछ । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिन्छ ।
सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति भन्ने गरिन्छ । थारु र मगर समुदायले १ गतेलाई विशेष उल्लासका साथ मनाउने गर्दछन् । थारु समुदायले माघीलाई नयाँ वर्षको रुपमा मनाउने गर्छन् । थारु समुदायले माघ १ गतेदेखि गाउँको नयाँ नेतृत्व चुन्ने, नयाँ कामको थालनी गर्ने, नयाँ वर्षको योजना बनाउने लगायतका काम गर्दछन् ।
माघीका अवसरमा विभिन्न स्थानमा मेला/ महोत्सव संचालन भइरहेका छन । तराईवासीले माघ १ गतेलाई नहान अर्थात् नुहाउने पर्वका रूपमा मनाउँछन् । बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । आज स्नान, दान, व्रत, ध्यान गर्ने व्यक्तिले पुण्य प्राप्त गरी मनकामना पूर्ण हुने जनविश्वास छ ।
माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ । माघे सङ्क्रान्ति पर्वको अवसरमा नेपाल सरकारले २०६४ सालदेखि माघ १ गतेलाई राष्ट्रिय पर्व घोषणा गरी सार्वजनिक बिदा समेत दिँदै आएको छ ।

