बब्लु खान✍️
नेपालगन्ज । मानवता र प्यालेस्टाइनको वकालत गर्दै प्यालेस्टाइनका शहीदहरुको सम्झनामा नेपालगन्जमा आज एक कार्यक्रम गरिएको छ । प्यालेस्टाइनका शहीद बालबालिका, महिला र पत्रकारहरुको सम्झनामा विश्व शान्तिको कामनाका लागि शनिबार कार्यक्रम गरिएको हो ।

नेपाली काँग्रेसका लुम्बिनी प्रदेश सदस्य माननीय मीना बोहरा सिद्दिकीको प्रमुख अतिथि र नरैनापुर गाउँपालिकाका अध्यक्ष सय्यद इस्तियाक अहमद शाह तथा लुम्बिनी प्रदेशका पूर्वसदस्य मो. याकुब अन्सारीको विशिष्ट अतिथिमा भएको कार्यक्रममा प्रमुख अतिथि माननीय सिद्दिकीले प्यालेस्टाइन युद्धमा महिला, बालबालिका र पत्रकारहरू माथी जुन हिंसा र नरसंहार भएको छ, त्यो मानव अधिकार हनन भएको बताउँदै त्यहाँको शहीदहरुको सम्झनामा चिर-शान्तिका लागि हार्दिक श्रद्धाञ्जली अर्पण समेत गर्नुभएको थियोे ।
डा. जैनुल आबदिनले सञ्चालन गरेको कार्यक्रममा हाफिज सगिर अहमद खानले शुभकामना मन्तव्य ब्यक्त गरेको कार्यक्रममा वक्ताहरूले प्यालेस्टाइन युद्ध, हिंसा र नरसंहारबाट प्रभावित बालबालिका, महिला, तथा पत्रकारहरुको सम्मान गर्दै न्याय र शान्तिको पक्षमा एकजुट हुन आह्वान गरेका थिए ।
कार्यक्रममा इको नेपाल फाउन्डेसनका संस्थापक करण शाह, नेपाली काँग्रेसका युवराज शाह, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य मो. आरिफ अन्सारी, हाजी अब्दुल कदीर, विभिन धर्मगुरु, समाजसेवी लगायत सर्वसाधारणको उपस्थिति रहेको थियो ।