Close sidebar

टिकटकमा कम्युनिटी गाइडलाइन्स विपरीत पोस्ट गरेका ६ हजार ७८ भिडियो हटाइयो

२०८१ मंसिर १९ गते, बुधबार १३:१५

काठमाडौं । सामाजिक सञ्जाल टिकटकले पोस्ट गरेका भिडियो हटाइएको छ । टिकटकले नेपालमा दुई महिनामा कम्युनिटी ‘गाइडलाइन्स’ विपरीत पोस्ट गरेका ६ हजार ७८ भिडियो हटाइएको हो ।

अप्रिल र जुन महिनामा पोस्ट भएका उक्त भिडियोमध्ये ९९ दशमलव १ प्रतिशत तुरुन्तै हटाएको र ९३ दशमलव २ प्रतिशत भिडियो २४ घन्टाभित्र हटाएको टिकटक प्रतिनिधिले जनाएका छन ।

मंगलबार काठमाडौंमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँगको समन्वयमा टिकटकले आयोजना गरेको ‘डिजिटल सेफ्टी समिट नेपाल’ कार्यक्रममा उक्त तथ्याङ्क प्रस्तुत गरिएको थियो । कार्यक्रममा टिकटक प्रतिनिधि सिद्रा जलिलले टिकटकले नियमन गर्न बनाएको निर्देशिका (गाइडलाइन)बारे कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।

मर्यादित र व्यवस्थित टिकटक प्लेटफर्म बनाउन उमेर समूह समेत छुट्याइएको प्रस्तुतकर्ता जलिलले बताइन् । टिकटकमा सीधै म्यासेज गर्न १६ वर्ष उमेर पुगेको हुनुपर्ने, लाइभमा बस्न १८ वर्ष उमेर पुगेको हुनुपर्नेलगायत निर्देशिका टिकटकले निर्धारण गरेको छ । यद्यपि प्रयोगकर्ताको सामाजिक सञ्जालको सही सदुपयोग गर्नेबारे चेतनाको अभावका कारण गाइडलाइनको सही पालना नभएको उनले सुनाइन् ।

त्यस्तै कार्यक्रममा दक्षिण एसियाका लागि टिकटकका सार्वजनिक नीति तथा सरकार सम्बन्ध प्रमुख फिरदौस मोक्ताकिनले डिजिटल साक्षरता र अनलाइन सुरक्षा प्रवर्द्धनमा नेपाल सरकारसँग निरन्तर सहकार्य गर्ने प्रतिबद्ध रहेको बताए ।

उनले विशेष गरी बालबालिका र युवाहरूको अनलाइन सुरक्षामा निश्चित ‘गाइडलाइन’ बनाएको जानकारी दिए । नेपालमा सुरक्षित अनलाइन वातावरण सिर्जना गर्ने दिशामा एक महत्वपूर्ण कदम चालेको बताउँदै उनले टिकटक प्रयोगकर्ताको सुरक्षामा विशेष चासो रहेकोसमेत सुनाए ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : [email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया