नेपालगन्ज । कार्तिक शुक्लपक्षमा चारदिनसम्म मनाइने छठपर्वका दिन नेपालगन्जको बागेश्वरी मन्दिरको रोनक बढेसँगै छठ ब्रतालुहरुको घुइँचो लागेको छ । बिहिवार छठ पर्वको मुख्य दिन साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिएका छन । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व मंगलबारदेखि सुरु भएको छ ।तराई मधेसमा छठपर्व मनाउनेहरुले पोखरी, नदी, ताल-तलैया सरसफाई गरी सजावट गरी दुलहीझैं सिंगारिएको हो । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा-झुप्पा फलफुल चढाउँदा सूर्यदेवता प्रसन्न भई व्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता छ । कार्तिक २० गतेबाट सुरु भएको छठपर्व षष्ठी तिथी अर्थात् पर्वको तेस्रोदिन आज अस्ताउँदो सूर्य र सप्तमी तिथीमा उदाउँदो सूर्यलाई अर्घ दिई छठ पर्व विधिवत रुपमा समापन गरिन्छ । दुई वर्षदेखि छठ मनाउने स्थल अस्तव्यस्त बनेको छ । भक्तजनहरुले स्थानीय सरकारले बेवास्ता गरेको आरोप लगाएका छन ।