नेपालगन्ज । बाँकेका विभिन्न ठाउँमा स्थापित गरिएको दुर्गा भवानीको मुर्ती आज शान्तिपूर्ण रुपमा बिसर्जन गरिएको छ । आइतवार दिउँसो ट्रक, ट्याक्टर लगायत सवारी साधनमा मूर्ति राखेर लावालस्कर सहित बाजागाजा बजाएर नाँचगान गर्दै डुडुवाको सिधनियाघाटस्थित राप्ती नदीमा मूर्ति बिसर्जन गरिएको हो ।विजयादशमीको घटस्थापनाको दिनदेखि स्थापना गरिएका दुर्गा भवानीको मूर्ति नौ दिनसम्म विशेष पूजापाठ गरी दसैँको भोलिपल्ट सेलाइने परम्परा रहेको छ । नौ दिनसम्म दुर्गा सप्तसतीको पाठ गर्ने गरिन्छ र नवमीका दिन विशेष पूर्णाहुती गरी पूजापाठ सकिन्छ ।मुर्ति बिसर्जनलाई व्यवस्थित र मर्यादित बनाउन बाँके प्रहरीले सुरक्षा व्यवस्थालाई चुस्त बनाएको थियो । कुनै अप्रिय घटना हुन नदिन ड्रोनबाट अवलोकन गरिएको थियो । भने संवेदनशिल ठाउँको पहिचान गरि घरको छतबाट समेत प्रहरीले निगरानी गरेको थियो ।आइतबार बिहान करीब १० बजेदेखि नै मूर्ति विर्सजन हुने रुट लगायत जिल्लाभरि सुरक्षा व्यवस्थापनका लागि एक हजार प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक यामबहादुर बुढाले जानकारी दिनुभयो । उहाँले बाँकेमा करिब छ सय दुर्गा भवानीको मूर्ति विसर्जन गरिएको अनुमान रहेको बताए ।यसअघि इस्लाम धर्मवलम्बिको महान पर्व ताजिया बिसर्जन र मोहम्मद डे मा पनि प्रहारीले ड्रोनबाट अवलोकनसंगै घरका छत, पैदल र सादा पोशाकका प्रहरी परिचालन गरेको थियो ।