Close sidebar

नेपालगन्जमा ५५ फिटको रावणको पुत्ला दहन (फोटो सहित)

२०८१ आश्विन २७ गते, आईतवार ०३:३४

नेपालगन्ज । हरेक वर्ष जस्तै यस वर्ष पनि दशैंका दिन रावणको पुत्ला दहन गरिएको छ । नेपालगन्ज वडा नम्बर १३, स्थित रामलिला मैदानमा शनिबार साँझ ५५ फिटको रावणको पुत्ला दहन गरिएको हो । विजयादशमीको पहिलो दिन घटनास्थापनादेखि सुरु भएको ऐतिहासिक रामलीलाको १५७ औँ संस्करण अन्तर्गत १० औँ दिन भव्य कार्यक्रमका बिच रावणको पुत्ला दहन गरिएको आयोजकले जनाएको छ ।

भारतको मधुरा बृन्द्राबनको राधारमण मण्डलबाट आएका २५ जना कलाकारको समूहबाट वाल्मीकि रामायणमा आधारित रामको भूमिका निर्वाह गर्नुभएका कलाकारले रावणको पुत्लामा अग्नि वाण प्रहार गरेर रावण दहन गर्नुभएको रामलिला सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कनोडियाले बताउनुभयो ।

अध्यक्ष कनोडियाका अनुसार १५० वर्ष अघिदेखि आयोजना हुँदै आएको रामलिला मञ्चनमा नारद मोह, रामजन्म, ताड्का बध, जनकपुर आगमन, बजार फूलवारी, धनुषयज्ञ, प्रशुराम, वाणासुर लिला, सिता स्वयम्बर, राम वनबास, दशरथ मरण, सिताहरण, लंकादहन र लक्ष्मण शक्ति वाण लगायत लीला प्रर्दशन यसअघि नै गरिसकिएको छ ।

रावण दहनका लागि लागेको भव्य मेला शनिबार दिउँसो देखि सुरु भए पनि रावणको दहन साँझ गरिएको छ । पुत्ला दहनपछि राती १० बजेदेखि रातभरि रामलिला मञ्चन हुनेछ । त्यसपछि आइतबार भरत मिलाप तथा शुभराज्यभिषेक गरेर रामलिला मञ्चन सम्पन्न हुने आयोजकले जनाएको छ । रावण दहन (मेला) हेर्नका लागि नेपालगन्ज लगायत वरिपरिका ग्रामीण क्षेत्रबाट समेत ठुलो संख्यामा सर्वसाधारण रामलिला मैदान पुगेका थिए ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया