Close sidebar

आज स्कन्दमाताको पूजा आराधना गरिँदै

२०८१ आश्विन २३ गते, बुधबार ००:२७

नेपालगन्ज । आश्विन शुक्ल पञ्चमी अर्थात् नवरात्रको छैठौंदिन आज दसैँ घर वा पूजा कोठामा नवदुर्गा मध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिदै छ । छान्दोग्य श्रुतीका अनुसार भगवतीको शक्तिबाट उत्पन्न भएकाले सन्तकुमारको नाम स्कन्द रहन गएको हो ।स्कन्दको माता भएकाले पार्वती नै स्कन्दमाताका नामले बुझ्न सकिन्छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवत लगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ ।

यसै आधारमा हिन्दु धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजया दशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादसैँ पर्व मनाउँछन् ।

नवरात्रको पहिलो दिन असोज १७ गते बिहीबार दसैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी “जौ”को जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नवदुर्गा मध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो । दोस्रो दिन शुक्रबार पूजा स्थलमा दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो भने तेस्रो दिन शनिबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरियो ।

चौँथो दिन आइतबार कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिएको थियो । भने पाँचौँ दिन सोमबार चौथीतिथि वृद्धि भएकाले कुष्माण्डा देवीकै पूजा आराधना गरिएको थियो । नवरात्रको छैठौंदिन आज भने स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गर्न लागिएको हो ।

दुर्गा पक्षसमेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैठौं दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यस वर्ष भने चौँथी तिथि वृद्धि भई दुई दिनको सूर्योदयकालमा तिथि परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यीनै नव वटा दुर्गाका रुपलाई नवदुर्गा पनि भनिन्छ ।नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्छ । यस अवसरमा नेपालगन्जको बागेश्वरी मन्दिरमा पनि बिहानैदेखि भक्तजनको भीड लाग्ने गर्छ । नवरात्रका अवसरमा शक्तिपीठमा गई पूजा, आराधना एवं दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने, पारिवारिक सुख शान्ति एवं ऐश्वर्य प्राप्त हुने धार्मिक विश्वास छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया