काठमाडौं । एसएमएस फ्रेन्डसिप कप टी–२० सिरिजका अन्तर्गत आइतबार भएको फाइनल खेलमा नेपालले गुजरातलाई १८ रनले पराजित गरी उपाधि चुम्न सफल भएको छ । भारतको गुजरातस्थित वापी क्रिकेट मैदानमा भएको फाइनल खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको नेपालले गुजरातलाई १७७ रनको लक्ष्य दिएको थियो । लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको गुजरातले २० ओभरको खेलमा ८ विकेट गुमाएर १५८ रन मात्र बनाउन सफल भयो ।
नेपालका बलर अविनाश बोहराले ४ ओभरमा २६ रन मात्र दिएर सर्वाधिक ३ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा १३ रन मात्र खर्चेर २ विकेट लिए । करण केसी र कुशल मल्लले समान १/१ विकेट लिए । गुजरातका कप्तान उमांगले २८ बलमा सर्वाधिक ४० रन, आर्य देशाईले २४ बलमा ३६ रन, रुद्र पटेलले १७ रन, जयमितले र हर्ष देशाईले १५/१५ रन बनाएका थिए ।
अघिल्लो इनिङमा नेपालका कप्तान रोहित पौडेलले तेस्रो विकेटका रुपमा ४६ बलमा सर्वाधिक ७४ रन, मोहम्मद आसिफले ३४ बलमा ३४ रन, कुशल मल्लले १३ बलमा ३१ रन, कुशल भुर्तेलले २१ बलमा १९ रन, दीपेन्द्रसिंह ऐरीले ३ बलमा ७ रन र सन्दिप जोराले ३ बलमा ७ रन बनाएका थिए ।
एसएमएस फ्रेन्डसिप कप टी–२० सिरिजमा सर्वाधिक ३ वटा पुरस्कार जित्न कप्तान रोहितकुमार पौडेल सफल भए । पौडेल ‘म्यान अफ दि फाइनल’ भए । साथै उनी यो सिरिजमा सर्वाधिक चौका र छक्का हान्ने खेलाडीका रूपमा पनि पुरस्कृत भए । गुलशन झा म्यान अफ दि टुर्नामेन्ट भए । यो सिरिजमा उनको ब्याटिङ, बलिङ र फिल्डिङ उत्कृष्ट रहेको भन्दै उनलाई यो पुरस्कार दिइएको हो ।
यसैगरी अर्का खेलाडी दिपेन्द्रसिंह ऐरी ‘जेम चेन्जर’ बाट पुरस्कृत भएका छन् भने अविनाश बोहराले ‘वेस्ट डेलिभरिज्’ अवार्ड पाएका छन् । टी–२० विश्वकपको तयारी स्वरुप भारत भ्रमणमा रहेको हाल नेपाल यो सिरिजको एक खेलमा पराजित भई अन्य सबै खेलमा विजयी भएको हो । फाइनल खेलमा भने नेपालले कप्तान रोहित पौडेल, सोमपाल कामी, अभिनाश बोहरा र आसिफ शेखलाई टोलीमा फर्किएका थिए ।