
नेपालगन्ज / यातायात कार्यालयमा सवारी बोक्ने प्रयोजनका लागि दर्ता नै नगरी गैरकानुनी रुपमा गुडिरहेका इ-रिक्सामाथि कडाई गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाले मंगलबार आफूखुसी गुडिरहेका गैरकानुनी रातो नम्बर प्लेटका करिब डेढ सय इ-रिक्सालाई चल्न नदिएर ‘होल्ड’ गरिएको छ । जिल्ला प्रशासन कार्यालय, यातायात कार्यालय, ट्राफिक प्रहरी, इ-रिक्सा कम्पनी लगायत सरोकारवाला बीचको ‘निरन्तर छलफल र बैठक’पछि इ-रिक्सा ‘होल्ड’ गर्न सुरु गरिएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख गोपीकृष्ण सुवेदीले मंगलबार १३२ वटा इ-रिक्सा ‘होल्ड’ गरिएको जानकारी दिनुभयो । गैरकानुनी रुपमा गुडिरहेका रातो नम्बर प्लेटका ९३ वटा यात्रुबहाक इ-रिक्सालाई जिल्ला प्रशासन कार्यालय बाँके र ३९ वटा इ-रिक्सालाई नेपाल प्रहरी विधि विज्ञान प्रयोगशालामा ‘होल्ड’ गरेर राखिएको नगर प्रहरी प्रमुख सूर्यबहादुर बोगटीले जानकारी दिए ।
नगर प्रमुख प्रशान्त विष्टले भन्नुभयो ‘यातायात कार्यालयबाट कालो नम्बर प्लेट नबनाउँदासम्म ती इ-रिक्सालाई गुड्न दिइने छैन’ । यातायातमा प्रक्रिया पुर्याएर आएपछि यहाँ नेपालगन्ज उपमहानगरपालिकामा सूचीकृत हुनुपर्दछ, नत्र हामी चल्न दिदैनौं बिष्टले भने । नेपालगन्ज उपमहानगरपालिकाले इ-रिक्सा सन्चालक र चालकलाई सचेत बनाउँदै आएको थियो । पछिल्लो पटक पनि सार्वजनिक सूचना जारी गर्दै रातो नम्बर प्लेटलाई कालो बनाउन आह्वान गरिएको थियो ।
नेपालगन्ज सहरमा आवश्यकता भन्दा बढी इ-रिक्सा जथाभावी चल्न थालेपछि दिनहुँ दुर्घटना हुने क्रम बढ्दो छ, साथै ट्राफिक अस्तब्यस्तता पनि बढेको छ । यो समस्यालाई मध्यनजर गर्दै नेपालगन्ज उपमहानगरपालिकाले गैरकानुनी रुपमा चलेका इ-रिक्सामाथि निगरानी बढाएको जनाएको छ । करिब ४ हजार इ-रिक्सा गुडे पुग्ने अनुमान गरिएको थियो । तर नेपालगन्जमा करिब १० हजार इ-रिक्सा गुडेका छन् । हालसम्म नेपालगन्ज उपमहानगरपालिकामा २८०० मात्र इ-रिक्सा सूचीकृत भएका छन ।
