
नेपालगन्ज / चालकलाई कारबाही र पीडित परिवारलाई उचित क्षतिपूर्तिको माग गर्दै मृतकका परिवार तथा आफन्तले आज नेपालगन्जको धम्बोझी चोकमा टायर बालेर अवरुद्ध गरेको सडक प्रहरीले खुलाइएको छ । आइतबार ट्यांकरको ठक्करबाट मोटरसाइकलमा सवार १७ बर्षीया बालिका सलोनी पाठकको घटनास्थलमै मृत्यु भएको थियोे ।
‘पीडित पक्षले क्षतिपूर्ति र चालकलाई कारबाही गर्न माग गर्दै सडक अवरुद्ध गर्नु भएको थियो ।’ हामीले चालकलाई नियन्त्रणमा लिइसकेका छौं, कानुन बमोजिम कार्वाही हुन्छ र उहाँहरूले क्षतिपूर्ति पाउनु हुन्छ।’ जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता (डिएसपी) नारायण डाँगीले जानकारी दिए ।
आइतबार बेलुकी करीब ६ बजेतिर जेब्राक्रसिङ्गमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १७ थुकैलागाउँ निवासी दिलीप पाठकले चलाएको भे ११ प ७६५७ नम्बरको मोटरसाइकललाई ना ३ ख ८८५२ नम्बरको ट्यांकरले ठक्कर दिएको थियो । ठक्करबाट बालिकाका बुवा दिलीप पाठक घाइते भएका छन । उनको अहिले उपचार भइरहेको छ ।
