Close sidebar

इन्टरपोलको ९१औं महासभामा सहभागी हुन प्रहरी महानिरीक्षक कुँवर अस्ट्रेलिया प्रस्थान

२०८० मंसिर १० गते, आईतवार १०:३९

काठमाडौं / प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर इन्टरपोलको ९१औं महासभामा सहभागी हुन आइतबार बिहान अस्ट्रेलियातर्फ प्रस्थान गर्नुभएको छ । इन्टरपोल महासचिवालयको आयोजनामा अस्ट्रेलियाको भियनामा मंसिर १२ देखि १५ गतेसम्म सन्चालन हुने उक्त महासभामा सहभागी हुन प्रहरी महानिरीक्षक कुँवर त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

राष्ट्रिय केन्द्रीय ब्यूरो (NCB) नेपालका प्रमुख समेत रहनुभएका प्रहरी महानिरीक्षक कुँवरसँग महासभामा सहभागी हुन इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर जबरा र प्रहरी वरिष्ठ नायव निरीक्षक पुरूषोत्तम नेपाली समेत त्यसतर्फ प्रस्थान गर्नुभएको छ । इन्टरपोलको १००औँ वार्षिकोत्सव मनाउने क्रममा सगरमाथाको सफल आरोहण गरी नेपालको राष्ट्रिय झण्डा, इन्टरपोलको झण्डा र नेपाल प्रहरीको झण्डा फहराउन सफल प्रहरी वरिष्ठ नायव निरीक्षक पुरुषोत्तम नेपाली इन्टरपोलको विशेष आह्वानमा महासभामा सहभागी हुनुभएको हो ।

इन्टरपोलका सबै १९५ सदस्य राष्ट्रहरुका प्रतिनिधिहरू सहभागी हुने उक्त महासभामा इन्टरपोलका महत्वपूर्ण विषयहरूमा मतदानद्वारा निर्णय गरिने प्रावधान अनुसार नेपालले पनि उक्त मतदानहरूमा भाग लिनेछ । साथै, प्रहरी महानिरीक्षक कुँवर नेतृत्वको प्रतिनिधि मण्डल तथा इन्टरपोलका अध्यक्ष र महासचिव बिच शिष्टाचार भेटघाट तथा छलफल हुने कार्यक्रम समेत रहेको छ । यसैगरी इन्टरपोलको ग्लोबल आउटरिच र क्षेत्रीय समर्थन (GORS) का प्रतिनिधिहरू तथा मित्रराष्ट्रहरू भारत, चीन र यूएईका प्रतिनिधिहरूसँग समेत विविध विषयहरूमा छलफल तथा द्विपक्षीय बैठक हुने कार्यक्रम रहेको छ ।

उहाँहरूलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा शुभकामना सहित हार्दिक विदाइ गर्नुभयो । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नु हुनेछ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया