
नेपालगन्ज / नेपालगन्जको बिपी चोकस्थित सात वटा पसलमा भीषण आगलागी हुँदा अनुमानित करीब १ करोड बढीको क्षति भएको छ । शुक्रबार बिहान करिब ४:३० बजेतिर गुरुद्वारा अगाडी रहेको महमूद जसगढले सञ्चालन गरेको आलिया ट्रेर्डस (काठ फर्निचर) पसलमा विद्युतको तार सर्ट हुन गई एक्कासी आगलागी हुँदा सोहि पसलको छेउमा रहेका अन्य ६ वटा पसल पनि जलेर नष्ट भएका छन ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार आगलागीबाट आलिया ट्रेर्डस, मिठ्ठु रिफ्रेसिङ मोटरसाईकल सेन्टर, वारसी काठ फर्निचर, सनिया स्टिल फर्निचर, गिलमान फर्निचर र चिन्टु किराना एण्ड नास्ता पसल पुर्ण रुपमा जलेर नष्ट भएको छ भने श्री लक्ष्मी स्टिल फर्निचर आंशिक रुपमा क्षती भएको जनाएको छ ।
पसल धनीहरुबाट लिएको जानकारी अनुसार अनुमानित करिब एक करोड बराबरको क्षति विवरण प्राप्त भएता पनि एकिन विवरण पसल धनीहरुले निवेदनमा उल्लेख गरेर पेश गरेपछि मात्र थाहा हुने जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता (डिएसपी) नारायण डाँगीले जानकारी दिए ।
नेपालगन्जका साथै कोहलपुरबाट आएको दमकल, प्रहरीको वाटर क्यानलका र स्थानीयको सहयोगमा करिब दुई घण्टामा आगो पुर्णरुपमा नियन्त्रणमा आएको थियो ।
