
मो. ताहिर शेष राई (साहिल)✍️
नेपालगन्ज / नजिकिँदै गरेको चाडपर्वलाई ध्यानमा राखेर बाँकेको जानकी गाउँपालिका अन्तर्गत वडा नम्बर ६ स्थित पिप्रहवा, गनापुर क्षेत्रको बजार अनुगमन गरिएको छ । दशैं, तिहार र छठ जस्ता महान पर्वलाई लक्षित गरी जानकी गाउँपालिकाको समन्वयमा बुधबार दिन वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जले बजार अनुगमन गरिएको हो ।
जानकी गाउँपालिका न्यायिक समितिका शाखा प्रमुख एवं अनुगमन समितिका संयोजक जित बहादुर श्रेष्ठको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय बाँके, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्ज, गुणस्तर तथा नापतौल कार्यालय नेपालगन्ज, उपभोक्ता हित संरक्षण मंच नेपालगन्जका प्रतिनिधि तथा जानकी गाउँपालिकाका जनप्रतिनिधि एवं कर्मचारीहरुको संयुक्त टोलीले सो क्षेत्रका करीब २० वटा पसलहरुमा अनुगमन गरिएको जनाएको छ ।
गनापुर क्षेत्रका विभिन्न स्थानको अनुगमनका क्रममा बर्नवाल किराना जनरल स्टोरलाई तत्काल २० हजार रुपैयाँ जरिवाना गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका सूचना अधिकारी देवीलाल चौलागाईले जानकारी दिए । सो पसलमा हार्डवयरसँगै आधा भन्दाबढी सामानहरु म्याद सकिएको पाइएको र मदिरा बिक्री वितरण गर्न राखिएको तथा भारतबाट भन्सार छलीगरि ल्याइएका मापदण्ड विपरीत सामानहरु समेत पाइएको चौलागाईंले बताए ।
यस्तै अनुगमनका क्रममा उपभोग्य वस्तु मिति गुज्रिएका र कलछलि गरेर अखाद्य वस्तु जम्मफुड, सुर्तीजन्य पदार्थ बिक्री गर्दै आएका तथा बिना इजाजत व्यवसाय सञ्चालन गरिरहेको पाइएको छ । आज मात्रै म्याद गुज्रिएका २० हजार रुपैयाँ बढीका सामानहरु नियन्त्रणमा लिएर नष्ट गरिएको र बिना इजाजत व्यवसाय सञ्चालन गर्दै आएका पसलहरुलाई १५ दिनभित्र व्यवसाय दर्ता गर्न निर्देशन समेत दिएको अनुगमन समितिका संयोजक जित बहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
सरकारले अहिले पनि बजार अनुगमनलाई परम्परागत शैलीमा खुद्रा पसललाई मात्रै केन्द्रित गरेको स्थानीयले गुनासो गरेका छन । उपभोक्ता ठग्ने व्यापारीलाई पहुँचका भरमा कारबाही नगरी उन्मुक्ति दिने र ठूला व्यवसायलाई छाडेर स–साना व्यवसायमा मात्र अनुगमन केन्द्रित भएपछि अनुगमन प्रभावकारी बन्न नसकेको स्थानीयले आरोप लगाएका हुन ।
