Close sidebar

नेपालगन्ज र खजुराका सबै विद्यालय चार दिनका लागि बन्द

२०८० श्रावण २३ गते, मंगलवार १८:१२

नेपालगन्ज / नेपालगन्ज र खजुराका सम्पूर्ण विद्यालय चार दिनका लागि बन्द गरिएको छ । बालबालिकामा आँखा पाक्ने रोग ‘कन्जक्टिभाइटिस एनिडो भाइरस’को सङ्क्रमण फैलिएपछि त्यसलाई थप फैलिनबाट रोक्न नेपालगन्ज उपमहानगरपालिका र खजुरा गाउँपालिकाले बुधबारबाट सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरिएको हो ।

नेपालगन्ज उपमहानगरपालिकाको शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर थापाले अधिकांश उपमहानगरका बालबालिकामा आँखा पाक्ने सङ्क्रमण देखिएकोले त्यसलाई थप फैलिनबाट रोक्न नेपालगन्जका निजि तथा सम्पूर्ण सामुदायिक विद्यालय चार दिनका लागि बन्द गरिने निर्णय गरिएको बताउनुभयो । ‘कन्जक्टिभाइटिस एनिडो भाइरस’ बालबालिकामा फैलिन थालेपछि आम नागरिकले विद्यालय बन्द गर्न नगरका विभिन्न स्थानबाट अभिभावकले आग्रह गरेको पनि उपमहानगरको शिक्षा महाशाखाले जनाएको छ ।

उनले केही दिनदेखि कन्जक्टिभाइटिस एनिडो भाइरस’को सङ्क्रमण वृद्धि हुँदै गएपछि आँखा सम्बन्धी प्रकोपका कारण विद्यालयबाट नै अन्य बालबालिकामा पनि सर्ने सम्भावना रहेकोले बुधवारदेखि शुक्रबारसम्म बिदा दिने र शनिबार बिदा नै परेकोले चार दिनका लागि पठनपाठन बन्द गर्ने मंगलबार निर्णय गरेको बताउनुभयो । यस्तै खजुरा गाउँपालिका शिक्षा शाखाले पनि एक विज्ञप्ति जारी गर्दै चार दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले पालिका अन्तर्गत विद्यालयका बालबालिकाहरूको आँखा चिलाउने, पाक्ने र रातो हुने समस्या दिन प्रतिदिन गुणात्मक रूपमा वृद्धि भइरहेकोले उक्त समस्याबाट बालबालिकाहरुमा हुनसक्ने जोखिम न्यूनीकरण गर्नका लागि शिक्षा शाखाले बुधबारदेखि शुक्रबारसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको बताउनुभयो । यसैगरी कोहलपुर नगरपालिकामा पनि सो सङ्क्रमणका कारण बालबालिकामा आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएको पाइएको छ ।

कोहलपुर नगरपालिकाले पनि विद्यालय बन्द गर्ने बारेमा छलफल भइरहेको जनाएको छ । बाँकेमा ‘कन्जक्टिभाइटिस एनिडो भाइरस’ बाट बालबालिका बढी प्रभावित भएको चिकित्सकले बताएका छन् । दैनिक २०० जति बालबालिका उपचारका लागि पुगिरहेको नेपालगञ्जस्थित फत्तेबाल आँखा अस्पतालले जनाएको छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया