काठमाडौं / पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गर्ने निर्णय भएको छ । सरकारले आज राति १२ बजेदेखि लागू हुने गरी स्वचालित प्रणाली सुरू गर्ने निर्णय गरेको हो । योसँगै सरकारले एलपी ग्यासमा कुनै पनि मुनाफा नराख्ने जनाएको छ । डिजेलमा २ प्रतिशत र पेट्रोलमा २.५ प्रतिशत नाफा राख्ने वाणिज्य सचिव मधुकुमार मरासिनीले जानकारी दिए ।
‘एलपी ग्यासमा प्रति सिलिन्डर १० रुपैयाँ मुनाफा थियो । आम उपभोक्तालाई मध्येनजर गर्दै यो पनि घटाएका हौं,’ उनले भने । भारतबाट मूल्य घटेर आएको छ । योसँगै स्वचालित प्रणाली अनुसार आज (आइतबार) राति १२ बजेदेखि लागू हुने गरेर पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ र डिजेलमा प्रतिलिटर ४ रुपैयाँ घट्नेछ । एलपी ग्यासमा प्रतिसिलिण्डर १० रुपैयाँ घटाइएको छ ।
चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रमा पेट्रोल १६१ रुपैया ५० पैसामा कारोबार हुनेछ । हाल यहाँ पेट्रल १६७ रुपैयाँ ५० पैसा प्रतिलिटरमा कारोबार भइरहेको छ । यो क्षेत्रमा डिजेल र मट्टीतेल १४३ रुपैयाँ ५० पैसा तोकिएको छ । हाल डिजेल र मट्टीतेल १४७ रुपैयाँ ५० पैसाका कारोबार भइरहेको छ । सुर्खेत र दाङ क्षेत्रमा पेट्रोल १६३ रुपैयाँ, डिजेल र मट्टीतेल १४५ रुपैयाँमा कारोबार हुनेछ । हाल यहाँ पेट्रोल १६९ रुपैयाँ प्रतिलिटर, डिजेल र मट्टीतेल १४९ रुपैयाँमा कारोबार भइरहेको छ ।
काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा भने पेट्रोल प्रतिलिटर १६४ रुपैयाँमा कारोबार हुनेछ । अहिले यो क्षेत्रमा पेट्रोल १७० रुपैयाँ प्रतिलिटरमा कारोबार भइरहेको छ । यी क्षेत्रहरूमा डिजेल र मट्टीतेल प्रतिलिटर १४६ मा कारोबार हुनेछ । हाल यी क्षेत्रमा डिजेल र मट्टीतेल १५० रुपैयाँमा कारोबार भइरहेको छ । एलपी ग्याँस भने प्रति सिलिण्डर १,८०० रुपैयाँबाट घटेर १,७९० रुपैयाँ हुनेछ । हवाई इन्धनको मूल्य भने सञ्चालक समितिले तोकेअनुसार लागू हुने उल्लेख गरिएको छ ।
