
नेपालगन्ज / कारागारमा रहेका एक जना कैदी शौचालयमा झुण्डिएको अवस्थामा भेटिएका छन् । नेपालगन्जस्थित कारागारमा रहेका जानकी गाउँपालिका वडा नं. ६ का २३ वर्षीय नीरज गुप्ता बिहिवार बिहान कारागारको शौचालयमा झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार डाँका चोरी मुद्दामा कारागार रहेका गुप्ता झुण्डिएको अवस्थामा मृत फेला परेको हुँदा पोष्टमार्टम पश्चात मात्रै सबै कुरा खुल्ने बताइएको छ । अहिले मृत शवलाई पोष्टमार्टमका लागि भेरी अस्पताल नेपालगन्ज पठाइएको छ ।
कारागार प्रशासनले मृतक गुप्ताका परिवार र आफन्तलाई बिहानै खबर गरिसकेको छ भने घटनाबारे प्रहरीले थप अनुसन्धान सुरु गरिसकेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
