काठमाडौं / राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०७९ मा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी सुरु गरेको छ । नतिजा प्रकाशनका लागि उत्तरपुस्तिकका परीक्षण, सम्परीक्षण, रुजु गर्ने काम सकेर हाल नतिजा कम्प्युटरमा प्रविष्ट गर्ने काम भइरहेको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए ।
‘असारको तेस्रो साताभित्र नतिजा प्रकाशन गर्ने कार्यतालिका अनुसार काम भइरहेको छ’, उनले भने, ‘उत्तरपुस्तिका परीक्षणको काम सकिए पनि प्राविधिक काम बाँकी छ।’ हतारमा नतिजा प्रकाशित गर्दा धेरै त्रुटी हुने सम्भावना भएकाले सकेसम्म त्रुटी नहुने गरी गरी नतिजा प्रकाशन गरिने उनको भनाइ छ । ‘जटिल प्राविधिक समस्या नआए असार २१ गतेभित्र नतिजा सार्वजनिक गर्छौ’, उनले भने ।
एसईई परीक्षा गत चैत १७ गतेदेखि सुरु भएको थियो । परीक्षामा देशभरका २ हजार ३७ परीक्षा केन्द्रमा सामुदायिक र निजी विद्यालयका गरी १२ हजार ८३ विद्यालयका ४ लाख ८५ हजार ३ सय ९६ विद्यार्थी सहभागी थिए । जसमा छात्रा २ लाख ४२ हजार ७ सय १२ र छात्र २ लाख ४२ हजार ६ सय ७४ जना थिए ।
