दार्चुला / यार्सागुम्बा सङ्कलन गर्न गएका पाँच जना बेपत्ता भएका छन् । दार्चुलाको व्यास गाउँपालिका – १ बोलिङ्गमा मंगलबार दिउँसो करिब ३ बजेतिर खसेको हिमपहिरोमा परी चार महिला र एक पुरुष बेपत्ता भएका हुन । डोटी जिल्ला जोरायल गाउँपालिका – २ बुडरका तीन महिला तथा दुहु गाउँपालिका – ४ पोक्सेका एक पुरुष र एक महिला बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकृत प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिनुभयो ।
सशस्त्र प्रहरी बल नेपाल, नम्बर ५० गुल्म छाङरुका प्रहरी नायब उपरीक्षक (डिएसपी) ईश्वरीदत्त भट्टले त्यहाँ बसेका १२ जना यार्सा सङ्कलक मध्ये सात जना सकुशल रहेको जानकारी दिनुभयो । बेपत्ता भएकाहरूको नाम खुल्न नसकेको उहाँले बताए । डिएसपी भट्ट सशस्त्र प्रहरीको २५ जनाको टोलीसहित मंगलबार साँझ घटनास्थलमा पुगेका थिए । हिमपहिरो गएका बेला केही यार्सागुम्बा सङ्कलक दाउरा खोज्न त्रिपालबाट बाहिर निस्केका कारण ठूलो मानवीय क्षति हुन नपाएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “घटनास्थल वरपर बाक्लो हिमपात भएको छ, राति अँध्यारोमा हिउँ पन्छाउन सकिने अवस्था छैन ।” राति उद्धार गर्न कठिनाइ भएका कारण सशस्त्र प्रहरीको टोली छाङरु नै फर्किन लागेको डिएसपी भट्टले बताउनुभयो । हिमपहिरो गएको स्थानमा सकुशल रहेका सबै यार्सागुम्बा सङ्कलकलाई आफूसँगै सुरक्षित स्थानमा लैजान लागेको उहाँले बताउनुभयो ।
लेक लाग्ने हिमाली भेगमा बस्ने ठाउँ अभाव रहेकाले टोली यार्सा सङ्कलक सहित फर्किन लागेको र बुधबार बिहानै उद्धारमा खटिने उहाँको भनाइ छ । “राति यतै बस्न सकिने अवस्था छैन, कसैको पनि उद्धार गर्न सम्भव छैन, हिउँ अझै परिरहेको छ”, घटनास्थलबाट सुरक्षित स्थानमा फर्किने तयारी गर्दै गरेका डिएसपी भट्टले भन्नुभयो । हिमपहिरोपछि सो क्षेत्रमा रहेका यार्सागुम्बा सङ्कलक त्रसित बनेको उहाँले बताए ।
यार्सागुम्बा सङ्कलक बस्दै आएका केही त्रिपाल हिमपहिरोका कारण पुरिएका थिए । अत्यधिक हिउँ परेका कारण यार्सागुम्बा सङ्कलक केही दिनयता त्रिपालमुनि बस्दै आएका थिए । उनीहरू यार्सागुम्बा सङ्कलन गर्नका लागि हिउँ पग्लिने पर्खाइमा थिए । यार्सागुम्बा सङ्कलन गर्न दार्चुला बाहेक अन्य जिल्लाबाट पनि सो क्षेत्रमा सर्वसाधारण गएका थिए ।
