मो. अरशद शेष राई✍️
बाँके, खजुरा । बाँकेको खजुरास्थित हजरत मुसा (मुस्बेटवा) बाबा मेला धार्मिक एकता र भाइचाराको संदेश दिँदै आज सम्पन्न भएको छ । खजुरा गाउँपालिका वडा नम्बर ४ को आयोजनामा र न्यु डाँफे स्पोर्टस क्लब खजुराको व्यवस्थापनामा तीन दिने मेला शनिबार सम्पन्न भएको हो ।
हरेक बर्ष वसन्त पञ्चमी अर्थात सरस्वती पुजाको दिनदेखि लाग्ने मेला अवधीभर हिन्दू–मुस्लिम समुदायका मानिसहरूले (मुस्बेटवा) बाबाको मजारमा पुजाआजा गर्ने, च्यादर चढाउने र फुलप्रसाद चढाउने श्रद्धालुहरूको भिड लाग्ने गर्दछ ।
वर्षौंदेखि लाग्दै आएको मेलाको बारेमा खजुरामा भेटिने पुराना बुढा पाकाहरुलाई सोध्ने हो भने उनीहरु आफु केटाकेटी हुँदा पनि मेला घुमेको सुनाउँछन् । त्यसैले यो मेला कति बर्षदेखि लाग्दै आएको हो भने पूर्ण समय थाहा हुन नसके पनि सयौं बर्षदेखि परम्परागत मेला लाग्दै आएको उनीहरू बताउँछन् ।
हरेक बर्ष बाबाको मजारमा लाग्ने मेलाले शान्ति र सद्भावको सन्देश प्रवाह गरिरहेको हुन्छ । जनश्रूतिलाई आधार मान्ने हो भने कुनै समय यहाँ घनघोर जङ्गल थियो, जङ्गलमा एक मुस्लिम बाबा र एक हिन्दु बाबा बस्ने गर्दथे मुस्लिम बाबा बाघमा सवार हुने गरेको र हिन्दु बाबासङ्ग पनि अलौकिक शक्ति रहेको बिश्वास छ ।
हरेक बर्ष वसन्त पञ्चमी अर्थात सरस्वती पुजाको दिन लाग्ने मेला अवधिपछि पनि (मुस्बेटवा) बाबाको मजारमा मुस्लिम समुदायले परम्परा अन्तर्गतका विविध धार्मिक कार्यहरू गर्दै आएका छन् ।

